News 24 Television
बजेटमा प्रचण्डले स्वीकारे गल्ती, बजेटमा छलफलमात्रै परिवर्तन नहुने

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट अर्थात विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि  १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । 

प्रस्तावित बजेटमाथि संसद्मा लगातार छलफल भएपनि असन्तुलित बजेट संशोधन नभई जस्ताको त्यस्तै पारित भएकोमा सांसदहरूले असहमति जनाएका छन् भने सरकारले बजेट सन्तुलित रहेको दाबी गरेको छ । 

सरकारले आर्थिक वर्ष २०८१\८२ को बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको जनाएको छ । तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य बजेटले लिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दाबी गरेका छन् । 

बजेटमाथि छलफलका क्रममा सांसदहरूले भौतिक पूर्वाधार मन्त्रालयले केही नेताको क्षेत्रमा योजना थुपारेको भन्दै चर्को विरोध गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले बजेटलाई लिएर संसद्मा व्यक्त भएको आक्रोश र बजेटको पुस्तिका च्यातिएकोमा आफू अवगत नै रहेको भन्दै परम्परागत ढंगबाट बजेट निर्माण गर्ने पद्धति बदल्ने प्रतिवद्धतामा असफल भएको स्वीकार गरे । 

सांसदहरुले भने राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सरकारलाई सुझाएका छन् । मुलुकमा प्रगतिशील कर प्रणाली लागू गरी जनताको घाँटी थिच्ने प्रणाली हटाउनुपर्ने भन्दै आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र नीतिगत निरन्तरता आवश्यक रहेको उनीहरूको धारणा छ । 

यता, अर्थमन्त्री वर्षमान पुनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवद्र्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने बताए । कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको भन्दै राजस्व अचपलन हुन नदिइने समेत प्रतिबद्धता जनाएका छन् । 

बजेटमा छलफल भएपनि परिवर्तन नहुने भएकाले सांसदहरू छलफलको औचित्यमाथि नै बारम्बार प्रश्न उठाउने गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा प्रतिपक्षको मात्र नभई सत्ताकै सांसदहरुले पनि असन्तुष्टि जनाएका थिए । यद्यपि सत्तारुढ दलहरुले ह्वीप जारी गरी बजेट बहुमतले पारित गरेका हुन् । 

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update