काठमाडौं । संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्यको सहमतिसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने अपेक्षा नीजि क्षेत्रको छ ।
अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको, उद्योग व्यवसाय धरासायी भएको, उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ गठबन्धनले यी समस्या समाधान गर्नेमा नीजि क्षेत्र आशावादी छ ।
नयाँ सत्ता गठबन्धन बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरुलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उद्योगी व्यवसायीले औल्याएका छन् ।
देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुनेमा उनीहरूको जोड छ ।
आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक छ । अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता सहकार्यको सहमति र राजनीतिक स्थायित्वसँगै आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न व्यवसायीहरूको सुझाव छ ।
राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास व्यवसायीको छ । उद्योग व्यवसाय, घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान गर्न पनि आवश्यक देखिन्छ ।
सरकारको स्थिरता खोजिरहेका उद्योगी व्यवसायीहरु राजनीतिक एमान्दारितासहित सरकार चल्नुपर्नेमा जोड दिइरहेका छन् । सत्ता गठबन्धनमा छिटो–छिटो आउने परिवर्तनले समस्या सिर्जना गरेको भन्दै उनीहरुले दिर्धकालीन योजना बनाएर अर्थतन्त्रमा विश्वास सिर्जना गर्न पनि स्थिरता हुनुपर्नेमा जोड दिएका छन् ।
