काठमाडौं । लामो समयदेखि निराशाजनक बनेको शेयरबजार असार १८ गते निकै उत्साहजनक देखियो । दुई पटक सर्किट ब्रेक नै लाग्यो । त्यसयता शेयरबजारमा उत्साहजनक नै छ । खासगरी सत्ता राजनीतिको असर शेयरबजारमा पनि पर्ने गरेको छ ।
असार १७ गते राती एमाले र कांग्रेसबीच नयाँ सत्ता सहमति भएकाले भोलिपल्टको शेयरबजारमा हरियाली छाएको थियो । पुनः अर्थमन्त्रीमा एमाले नेता विष्णु पौडेलको चर्चासँगै आइतबारको शेयरबजारमा त्यस्तै उछाल आएको छ ।
शेयरबजार बजार परिसूचक नेप्सेमा उछाल आइरहन्छ । नेप्से कहिले ओरालो लाग्छ त कहिले उकालो लाग्छ । तर नेप्सेमा निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु केहीसमय यता भने आन्दोलनमा नै उत्रिने गरेका छन् ।
शेयरबजार सुधारको माग गर्दै दुई वर्षअघि २०७९ असारमा लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा नै बसेका थिए । लगानीकर्ताहरुले दबाब समूह नै बनाएर आन्दोलन गर्ने गरेका छन् । त्यसभन्दा अघि पनि लगानीकर्ताहरुले शेयर बजारमा सुधारका लागि ३२ सूत्रीय माग राखेर आन्दोलन गरेका थिए ।
पाँच वर्षअघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजार सम्बन्धमा नकारात्मक विचार प्रवाह गर्दा लगानीकर्ताहरु दबाब समूह नै बताएर आन्दोलित भएका थिए ।
जतिबेला अर्थ मन्त्रालयले लगानीकर्ताको मागलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा पूँजीबजार अध्ययन समिति नै गठन गर्नु परेको थियो । त्यसयता पनि शेयरबजारमा सुधारको माग गर्दै लगानीकर्ताहरुले पटक पटक सडक आन्दोलन नै गर्ने गरेका छन् ।
पछिल्लो समय भने अर्थमन्त्रीमा नेकपा एमालेका नेता विष्णु पौडेलको नाम आउने वित्तिकै शेयरबजारमा उत्साह छाउने गरेको छ । यसअघि पौडेल अर्थमन्त्री अर्थमन्त्री भएको बेला नेप्सेले १८ सय ८१ को लाइन ब्रेक गरेर ३२ सयसम्म पुगेको थियो । तर पौडेल अर्थमन्त्री भए पनि पुँजीबजारमा सुधार ल्याउने गरी ठोस नीति भने ल्याउन सकेका थिएनन् ।
आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । ओली नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै आइतबार नेप्से ५२.९७ अंकले बढेर २ हजार २५७ दशमलब ५९ विन्दुमा पुग्यो । सात अर्ब ६२ करोड ४ लाख बराबरको कारोबार भयो । आइतबारको कारोबारमा २०१ कम्पनीको शेयरमूल्य बढ्यो ।
पूँजीबजारलाई लाभ हुने गरी उल्लेखनीय काम नगरे पनि शेयरबजारमा पौडेलको ग्रहदशा पनि मिल्ने गरेको छ । शेयर बजार बढेको श्रेय पाउँदा नयाँ बन्ने अर्थमन्त्री पनि हौसिने नै छन् । तर यो ‘कागताली मात्रै परेको’ शेयर विश्लेषकहरु बताउँछन् ।
मन्त्रीको परिवर्तन वा व्यक्ति विशेषको कारणले भन्दा पनि नीतिगत सुधारका आधारमा बजार बढ्नुपर्ने हो । त्यसैले लगानीकर्तालाई सहज हुने स्थिर नीति आवश्यक छ । त्यसका लागि अब बन्ने अर्थमन्त्रीले पूँजी बजारमा सुधार हुने गरी ठोस नीति ल्याउन जरुरी छ ।
