काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । साेमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे ।
यसअघि एमाले सम्मिलित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले ल्याएकाे उक्त बजेटमाथि पाैडेलले विभिन्न टिका-टिप्पणी गरेका थिए । सरकारमा सहभागी अन्य दलहरूसँग सल्लाह नै नगरेर एकलाैटी ढंगले बजेट ल्याइएको आरोप उनी लगायत उनको दल एमालेले लगाएको थियो । तर आज उक्त बजेट नयाँ सरकारका लागि बाधक नबन्ने बताएर उनले बजेट स्वीकार गरेको संकेत देखाए ।
उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा समेत राखे । “सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ”, अर्थमन्त्री पौडेलले भने ।
संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।
“अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु”, पौडेलले भने, “शेयर बजार अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना छ ।”
अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेसँगै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । मन्त्री पौडेलको उपप्रधानमन्त्रीका रुपमा तेस्रो र अर्थमन्त्रीका रुपमा चाैँथो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
