काठमाडौं । शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति व्यवसायी मैत्री रहेको र यसले शिथिल बनेको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने भन्दै व्यवसायी उत्साहित छन् ।
उद्योग वाणिज्य संघ, नेपाल बैकर्स संघ, लघुवित्त बैकर्स संघ, सेयर कारोबारी देखि निर्माण व्यवसाय लगायत नीजि क्षेत्रले मौद्रिक नीति आवश्यकता अनुसारकै आएको बताएका छन् । यस्तोमा मौद्रिक नीतिमा कस्तो छ र निजी क्षेत्र किन उत्साहित छ त ?
राष्ट्र« बैंकले ल्याएको मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित छ । अर्थतन्त्रको लय भत्किँदै गरेको अवस्थामा मौद्रिक नीति व्यवसायमैत्री आएको भन्दै यसले संकटमा पुगेको अर्थतन्त्र उकास्न सकिने सरकारी र निजी क्षेत्रको तर्क छ ।
यसपटक मौद्रिक नीति जारी गर्दा गर्भनर महाप्रसाद अधिकारीमाथि अर्थतन्त्र चलायमान बनाउनुपर्ने चौतर्फी दबाब थियो । यस्तो अवस्थामा पनि उनले विगतमा जस्तो पुनर्कर्जाको औजार प्रयोग नगरि त्यसको समाधान गर्नका लागि बरु चलाखिपूर्ण नीति ल्याएको बताइएको छ । जसको उदाहरणको रुपमा सरकारी भुक्तानीमा समस्या भोगेका निर्माण क्षेत्रका व्यवसायीलाई साँवा ब्याज भुक्तानीको म्याद मंसिरसम्म सार्नुलाई लिन सकिन्छ ।
जुन निर्णय अर्थतन्त्र चलायमान बनाउन र लयमा फर्काउन सहयोगी बन्ने अपेक्षा गरिएको छ । त्यसैगरी गर्भनर अधिकारीले सेयर धितो कर्जामा संस्थागत लगानी कर्ताको सीमा हटाउँदा व्यक्तिगतका लागि भने कायम राखेका छन् । यो निर्णयले कोरोनाकालमा जस्तो बैंकबाट ऋण प्रवाह भएको रकम सेयर वा घर जग्गामा अधिक लगानी नहुने देखिन्छ ।
यो निर्णयले सेयर बजारमा केहि सुधार हुनुका साथै विगतमा जस्तो अर्थतन्त्रमा समस्या देखिदैन । त्यसैगरी मौद्रिक नीतिमा बैंकिङ क्षेत्रमा रहेका समस्यालाई केन्द्रीय बैंकले स्वीकार देखिएको छ । त्यसका लागि बैंकहरूको घटेको प्रोफिटाबिलिटी, सम्पत्तिको गुणस्तरमा परेको दबाब, कर्जा नोक्सानी व्यवस्थाका साथै पूूँजीकोषको समस्या स्वीकार गर्दै समस्या समाधानका लागि कदम चालिएको छ । अहिले बजारमा देखिएका आर्थिक समस्याको मुख्य कारण निर्माण क्षेत्र देखिएको समस्या हो । तर मौद्रिक नीतिले निर्माण क्षेत्रलाई विशेष सम्बोधन गरेका कारण त्यसले अन्य क्षेत्रमा समेत राहत पुग्ने बयवसायीको तर्क छ । अहिले बैंकको ब्याजदर घट्दा र अधिक तरलता हुँदा पनि कर्जा विस्तार हुन सकेको छैन । यसको कारण समग्र मागमा नै कमी आउनुलाई कारण मानिएको छ । यस्तो अवस्थामा मौद्रिक नीतिमार्फत निर्माण क्षेत्र चलायमान् बनाउन खोजे जस्तो देखिन्छ । विगतमा निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर मौद्रिक नीति नआउँदा अहिले त्यसको असर जताततै देखिएको गुनासोपछि अहिलेको मैद्रिक नीतिले यो क्षेत्रलाई पनि समेट्ने प्रयास गरेको बताइन्छ ।
समग्रमा हेर्दा मौद्रिक नीति व्यवसायमैत्री र अर्थतन्त्र चलायमान बनाउने खालकै आएको भन्दै ब्यवसायी खुशी देखिन्छन् । तर यसले साना व्यवसायीहरुलाई अझै समेट्न नसकेको आरोप पनि लागिरहेको छ । यसका जानकारहरु वित्तीय मध्यस्थकर्ता प्रवद्र्धन मार्फत कर्जा बढाउने विषयमा मौद्रिक नीति चुकेको बताइ रहेका छन् ।
