News 24 Television
निजी क्षेत्रको मनोबल उकास्न के गर्दैछ सरकारले ?

काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताए ।

साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै उनले यसको प्रवर्धन गर्ने सरकारको नीति रहेको दाबी गरे । उनले यसका निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हामी भर्खर आएका छौँ । आइसकेपछि उत्पादनको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? व्यवसायीका समस्याहरु के छन् ?' उनले भने, 'तिनलाई हामीले एकपछि अर्को जानकारी लिने, छलफल गर्ने कामहरु गरिरहेका छौँ । हाम्रो कोशिस के छ भने तपाईहरुलाई उत्साहका साथमा आफ्नो पेशामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । त्यस उद्देश्यले हामी केही न केही गर्छौं । तपाईहरुको निम्ति अनुकुल परिस्थिति निर्माण गर्ने । खासगरी घरेलु तथा साना उद्योगको महत्व के हो भनेदेखि देशका सबै जिल्लामा, सबै पालिकामा यसको बिस्तार छ । यसमा ठूलो संख्यामा रोजगारीमा आवद्ध छन् । अझै यसलाई बिस्तार गर्ने सम्भावना छ । स्वरोजगारीका निम्ति पनि महत्वपूर्ण माध्यम हो ।’

घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि उनले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update