News 24 Television
सहकारी प्रतिवेदनमा कसरी समेटिँदैछन् रवि ?

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले हालसम्म ३९ जना सहकारी सञ्चालक र कर्मचारीमाथि सोधपुछ गरेको छ । 

३ महिना तोकिएको कार्यावधि भदौ १५ गते पूरा हुँदैछ । यस्तो अवस्था समितिले छानबिनलाई तिब्र बनाएको छ । समितिको सोधपुछ गर्ने लिष्टमा पूर्व गृहमन्त्री रवि लामिछाने नाम पनि रहेको छ । 

सहकारी संस्थाको बचत रकम दुरुपयोगका सम्बन्धमा गठित संसदीय विशेष समितिले हाल सम्म जेल भित्र रहेका १९ र जेल बाहिर रहेका २० गरी ३९ जना सहकारी सञ्चालक र कर्मचारी संग सोधपुछ गरेको छ । 

यी मध्ये केही कर्मचारी सञ्चालक काठमाडौं उपत्यका भित्रको जेलमा रहेका छन् भने केही काठमाडौं भन्दा बाहिरका छन् । समितिले सोधपुछ र वित्तीय विश्लेषणको काम संगसँगै अगाडि बढाई रहेको र सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने काम पनि गरिरहेको छ ।  

समितिले छानबिनका लागि आवश्यक ठानेका २३ जना सहकारीका सञ्चालकहरु नेपाल भित्र छैनन् । उनीहरु भागेर विभिन्न देशमा पुगेका कारण समितिले उनीहरुसँग सोधपुछ गर्न सकेको छैन । तर नेपाल भित्र रहेकाहरुलाई भने आवश्यकताका आधारमा सोधपुछ गरीरहेको छ । 

सहकारीको बचत ठगि विषयमा गोर्खा मिडिया नेटवर्कसँग जोडिएका रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम पनि समितिको सोधपुछ गर्ने लिष्टमा छ । 

समितिले छानबिन गर्दा एकै व्यक्ति बर्षौं बर्ष सहकारीको अध्यक्ष बनेको, परिवार र नातागोताका व्यक्तिहरु सञ्चालक समिति र मुख्य भूमिकाको कर्मचारीका रुपमा बसेर मिलेमतो गरेको, देशको अबौं रुपैयाँ गैरकानुनी रुपमा विदेशमा पु¥याउने काम पनि सहकारी मार्फत हुँदा सहकारीमा समस्या सिर्जना भएको पाएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकाबेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपा सभापति लामिछाने सहकारी विवादमा मुछिएको भन्दै राजीनामाको माग गरेको थियो । 

लामिछानेलाई दोषी करार गर्ने अभिप्रायले कांग्रेसले संसदीय समितिको माग गर्दै लामो समयसम्म संसद अवरुद्ध गरेको थियो । संसदीय समितिले लामेछानेको सम्बन्धमा कस्तो प्रतिवेदन तयार गर्छ, प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update