News 24 Television
पारालिम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कांस्य पदक  

काठमाडौं । नेपालकी पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट ऐतिहासिक काँस्य पदक दिलाएकी छन् । 

पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै पलेशाले ऐतिहासिक सफतला दिलाएकी हुन् । पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले काँस्य पदक जितेकी हुन् । 

रिपाचेजमार्पmत काँस्य पदकका लागि भएको प्रतिष्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन् । 

यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो । नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन । 

जितपछि पलेशा र प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको र जितको खुशी आफूले बयान नै गर्न नसकिने बताएका छन् ।
पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन् । पलेशाले राउण्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो शुरुवात गरेकी थिइन् । तर क्वार्टरफाइनलमा विश्व नम्बर खेलाडी ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन् । यद्यपि उनले रिपाचेजमार्पmत काँस्य पदकको लागि भएको प्रतिष्पर्धामा सफलता प्राप्त गरिन् ।

पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन् । सन् २०२० पारालिम्पिकमा पनि उनी काँस्य पदकको प्रतिष्पर्धामा चुकेकी थिइन् । सन् २०१२ देखि तेक्वान्दोका खेलाडी यादव कुँवरले पारा तेक्वान्दो खेल्न शुरु गरेका हुन् । 

दक्षिण कोरियामा भएको दुर्घटनामा हात गुमाएपछि तेक्वान्दोकै खेलाडी यादवले पारा तेक्वान्दो खेल्न शुरु गरेका थिए । उनले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । 

उनले सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य र सन् २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । 

पलेशालाई बधाईको ओइरो

पलेसालाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता प्रचण्ड लगायत शीर्ष नेता, सरकारी अधिकारी र सर्वसाधारणले बधाई दिइरहेका छन् । 

पलेशाले मुलुकका लागि ठूलो सफलता हासिल गरेको भन्दै उनलाई बधाई दिनेको ओइरो लागेको छ भने उनको योगदानलाई सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने समेत बताइएको छ । 

जितसँगै पुरस्कारको चर्चा

पारालिम्पिक्समा कास्य पदक जितेकी पलेशालाई सरकारले ६५ लाख रुपैयाको पुरस्कार दिनुपर्ने भएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल÷ग्रीष्मकालीन÷शीतकालीन÷पारा÷विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ । 

नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्ने प्रावधान रहेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update