काठमाडौं । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदै जाँदा अहिले दर्जन बढी संख्यामा छन् । अधिकांशले संसदीय ब्यवस्थालाई अंगिकार गरेका छन् भने केहीले संसदीय ब्यवस्थाको विरोधमा छन् ।
सत्ताको पेरिफेरीमा रहँदा कम्युनिस्ट पार्टीहरु विचारविहीन जस्ता बनेका छन् । आफूलाई सच्चा कम्युनिस्ट भन्नेहरु पनि गैरकम्युनिस्ट पार्टीको बुइ चढेर क्रान्ति र समाजवादको दुहाइ दिइरहेका छन् ।
नेपालको कम्युनिस्ट पार्टी स्थापनाको ८ दशक बढी भइरहेको छ । तर कम्युनिस्टहरु टुटफुट र एकताको प्रक्रियाबाट गुज्रिरहेका छन् । टुटफुटकै कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको आंकलन पनि नेताहरुलाई नभएको होइन ।
सत्ता स्वार्थ र पद प्रतिष्ठाका लागि विभाजित भई उनीहरु खुद्रे पसलहरु थापिरहेका छन् । अनि, एकले अर्कालाई हिलो छ्पापिरहेका छन् । जनताको बहुदलीय जनवाद भन्दै संसदीय राजनीतिबाट उदाएको एमाले र १० वर्षे सशस्त्र संघर्ष हुँदै संसदीय राजनीतिमा स्थपित भएको नेकपा माओवादी केन्द्र दुवैले आलापालो प्रजातान्त्रिक शक्ति भन्ने नेपाली कांग्रेसको फेरोमा समातेर सत्ता दोहन गरिरहेका छन् । तर सीमित सत्ता स्वार्थले कम्युनिस्ट आन्दोलन कमजोर बनेको भन्दै उनीहरु बामपन्थी एकताको बहसमै देखिन्छन् ।
श्रमशक्ति कमजोर बन्दा श्रमिकहरु संकटमा पर्दै गएको महशुस पनि उनीहरुले नगरेका होइनन् । त्यसैले २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्ने उनीहरुको तर्क छ ।
संसदको गणितमा बहुमत पुग्न पनि कम्युनिस्ट एकता नै आवश्यक छ । तर चुनावी मोर्चासमेत गैरकम्युनिस्टहरुसँग हुने गरेका छन् । जसले गर्दा कम्युनिस्ट वैचारिक राजनीति नै स्खलित भएको छ । यद्यपि बामपन्थी र समाजवादी रुझान भने देखाइरहेका छन् । ‘नेपालमा समाजवादः चुनौति र सम्भावना’ विषयक गोष्ठीमा सहभागी कम्युनिस्ट नेताहरुले समाजवादमा पुग्न आ–आफ्नै तर्क प्रस्तुत गरे ।
कम्युनिष्ट विचारबाट विमुख हुँदै गएको पनि कतिपय नेताहरुको स्वीकारोक्ति छ । कम्युनिस्ट पार्टीको टुटफुटकै कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वभाविक नै हो । तर कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउनकै लागि बाम एकता अपरिहार्य ठानेका हुन् वा आगामी निर्वाचनका लागि एकताको बहस चलाएका हुन्, आगामी दिनले बताउने छ ।
