 
                                                                    पोखरा । डुलुवा भन्नेबित्तिकै केही काम नभएको तर पनि लखरलखर डुलिराख्ने भन्ने अर्थ लाग्छ । तर पोखरामा एउटा यस्तो टिम छ जसको नाम नै डुलुवा टिम हो । टिमका धेरैजसो प्याराग्लाईडिङ क्षेत्रका पाईलट र व्यवसायी छन् । वर्षको एक पटक आफ्नो कामकाजबाट बाहिर निस्केर देश भित्रै डुल्ने र पर्यटन तथा प्याराग्लाईडिङको संभावना अध्ययन र समाजसेवा गर्ने उद्देश्यले सन् २००८ बाट टिम डुलुवा डुल्न थालेको हो ।
बिस्तारै डुल्ने नियमित प्रकृया नै बन्यो र यो टिमले नेपालका ७० जिल्ला डुलिसकेको छ । गत वर्षदेखी भने भारतिय शहर केन्द्रित भ्रमण सुरु गरेको छ डुलुवा टिमले । यो पटक नेपालको कास्कीबाट भारतको कन्याकुमारी सम्मको २९ दिनको यात्रा गरेर टोली पोखरा फर्किएको छ । आफ्नै गाडीलाई नेपाली पर्यटनको ब्राण्डिङ गरी भारतिय सहरमा जाँदा त्यसले भारतियहरुको मन खिचेको डुलुवा टिमको अनुभव छ । यो पटकको यात्रा भारतिय धामहरुमा गई नेपालको धार्मिक पर्यटनको प्रचार गरेको र धेरै भारतियहरु नेपालको भ्रमण गर्न चाहेको डुलुवा टिमका सदस्य योगेश भट्टराई बताउँछन् ।
१९ जना सदस्य रहेको टिमले आफ्नै गाडी लिएर भारतिय शहरमा नेपालको प्रवर्धन गरेको थियो । २९ दिन लामो यात्रामा सबै खर्च टोलीका सदस्यको आफ्नै हो । नेपाली सवारी यसरी नेपालको झण्डा र नेपालका गन्तव्यको फोटो टाँसेर भारतिय शहरमा पुग्दा त्यहाँको प्रहरी देखि सबै नागरिकले स्वागत गरेको मिठो अनुभव सुनाउँछन् अर्का डुलुवा ठाकुर बराल ।
सन् १९९० को दशकमा पश्चिमा मुलुकहरुबाट नेपालमा यसरी नै गाडी लियर आउने पर्यटक निक्कै धेरै थिए । चलनचल्तीको भाषामा यसलाई मोटरहोम टुरिजम भनिन्छ । तर अहिले त्यो शुन्य प्राय छ । टिम डुलुवाले नेपाल भित्रै नेपालीहरुमा र विदेशमा गई गाडिको लावालश्कर अर्थात एउटा क्याराभान मार्फत नेपालको त्यो पुरानो पर्यटनलाई जिवन्त तुल्याउने अभियानमा आफुलाई अघि सारेको छ । सम्भव भएसम्म नेपालबाट लण्डनसम्मको नेपाली गाडीको क्याराभान यात्रा छिट्टै गर्ने डुलुवा टिमका सदस्य योगेश भट्टराईको भनाइ छ ।
नेपाली शहरिया जमातमा आजकल वर्षको एकपटक घुम्न निस्कनु पर्छ भन्ने सोचको विकास भएको छ । तर पोखराको टिम डुलुवाको जस्तो राष्ट्रकै प्रतिनिधित्व हुने खालको भ्रमण भने निक्कै कमैले मात्र गरेका होलान् त्यो पनि आफ्नै खर्चमा । बिदेशमा घुम्न जाने क्रममा करोडौ रकम खर्च गर्छन् नेपालिहरुले तर डुलुवा टिमको जस्तो भ्रमण गर्ने हो भने नेपालबाट घुम्न जाने मात्र हैन कि नेपालमा भ्रमण गर्न दिइने निम्तो लिएर घुम्ने हो भने नेपालमा पनि विदेशी पर्यटकको संख्या बढ्दै जानेमा कुनै दुईमत छैन । 
 
 
                                     
                                                                    
 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    