काठमाडौं । सन् २०१४ नोभेम्बर २७ र २८ मा नेपालमा अठारौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन भएयता हालसम्म अर्को शिखर सम्मेलन हुन सकेको छैन ।
भारत र पाकिस्तानबीचको तनावका कारण शिखर सम्मेलन हुन नसकेपनि विगतमा संयुक्त राष्ट्रसंघको महासभामा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुबीच साइडलाइन वार्ता हुने गरेको थियो । तर कोभिड महामारीयता त्यो पनि हुन नसक्दा दक्षिण एसियाली मुलुकहरुको एकमात्र साझा मञ्च लामो समयदेखि निष्क्रिय बन्दा यसको औचित्यमाथि नै प्रश्न उठेको छ ।
सन् १९८५ डिसेम्बर ८ मा दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन नभएको १० वर्ष भइसक्यो । १८ औं शिखर सम्मेलन सन् २०१४ मा नेपालमा भएको थियो भने १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने तय भएको थियो ।
तर सन् २०१६ को अन्त्यतिर जम्मु–कश्मीरको उरीमा आफ्ना सैनिकहरुमाथि भएको आक्रमणको दोष पाकिस्तानलाई लगाउँदै त्यसपछि सार्क र शिखर सम्मेलनप्रति भारतले अरुची जनाउँदै आएको छ ।
दुई सदस्य राष्ट्रबीच तिक्ततापूर्ण सम्बन्ध हुँदा नेपालले अध्यक्षको हैसियतमा यसमा पहल लिन सक्थ्यो । तर नेपालको कमजोर अन्तराष्ट्रिय कुटनीतिका कारण सार्क र शिखर सम्मेलनलाई निरन्तरता दिनमा नेपाल चुक्दै आएको छ । शिखर सम्मेलन नभएपछि विगतमा संयुक्त राष्ट्रसंघको महासभामा भने सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीच मिनि सार्क शिखर सम्मेलनका रुपमा साइडलाइन वार्ता हुने गरेको थियो । तर यो साइडलाइन वार्ता पनि सन् २०१९ यता हुन सकेको छैन । यसपटक पनि जारी महासभामा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएन ।
यसअघि कोभिड महामारीको समयमा सार्कमार्फत् भारतले सरकार प्रमुखस्तरीय भर्चूअल बैठक आयोजना गरेको थियो । तर यसमा पाकिस्तानले असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीका सल्लाहकारलाई उपस्थित गरायो । भारत र पाकिस्तानबीचको असमझदारीका कारण पछिल्ला वर्षहरूमा सार्क निष्क्रिय बन्दै गएको पुष्टि भएको छ ।
नेपाल सार्क राष्ट्रको राजधानी भएको देश हो भने सार्क स्थापनाका लागि नेपालको अग्रणी भूमिका छ । यो बाहेक १० वर्षदेखि नेपालले सार्कको अध्यक्षता गरिरहेको छ । तर नेपालले आफ्नो जिम्मेवारी अनुसार सार्कमा काम गर्न सकेको छैन । सार्कमा भारत स्थापनाकालदेखि नै सुस्त थियो ।
सार्कका गतिविधि सुस्ताउँदै जाँदा पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक दक्षिण एशियाली र दक्षिणपूर्वी एशियाली राष्ट्रहरू सदस्य रहेको बिमस्टेक सक्रिय हुँदै गएको छ । लामो समय बडापत्रबिनै रहेको यो बिमस्टेकले गत वर्ष पारित गरेको बडापत्र विभिन्न देशहरूले अनुमोदन गरिरहेका छन ।
त्यसैले भारतले सार्कलाई ओझेलमा पार्दै पाकिस्तानलाई सहभागि नगराई गठन गरिएको उपक्षेत्रीय समुह विमस्टेक, बिबिआईएनलाई सक्रिय बनाउन खोजेको पूर्वपरराष्ट्रमन्त्री कमल थापा बताउँछन् ।
भारत पाकिस्तानको विवादले गर्दा १० बर्ष देखि सार्क सम्मेलन हुन नसके पनि नेपालले सार्कलाई सक्रिय बनाउनका लागि सार्कमा आबद्ध सबै देशहरुसँग छलफल गरेर अगाडि बढ्नु पर्ने एमाले नेता तथा पूर्व परराष्ट्र«मन्त्री प्रदिप ज्ञवालीको भनाई छ ।
सार्कको अध्यक्ष राष्ट्र नेपाल भएकै बेला सार्क ओझेलमा पर्दै जानुले नेपाल अन्तराष्ट्रिय कुटनीतिमा कमजोर रहेको सन्देश जाने पूर्व परराष्ट्रमन्त्री थापा बताउँछन् ।
नेपालको अन्तराष्ट्रि«य कुटनीति कमजोर भएको एमाले नेता पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको पनि स्वीकार्छन् । अन्तराष्ट्रिय कुटनीति कमजोर हुनुको कारण नेपालको अस्थिर राजनीति मुल कारण रहेको ज्ञवालीको जिकिर छ ।
हरेक दूई बर्षमा हुने गरेको सार्क सम्मेलन १० बर्षसम्म हुन नसक्नु सुखद होइन । अन्यतिरका क्षेत्रीय संगठनहरुमा पनि सबै देशहरूबीच राम्रो सम्बन्ध हुँदैन । तर पनि उनीहरु क्षेत्रीय संगठनको सवालमा एकैठाउँमा हुन्छन् । त्यसैले भारत र पाकिस्तानले उनीहरुको दुश्मनीलाई सार्कमा प्रतिविम्वित नगरी समग्र दक्षिण एशियाली भूभागको स्वार्थमा ध्यान दिन जरुरी छ । त्यसो त पछिल्लो समय भारत दक्षिण एसियाली राष्ट्रभित्रै एक्लिदै गएको छ ।
पाकिस्तानसँग चिसो सम्बन्ध रहँदै आएको भारतको पछिल्ला दिनहरुमा माल्दिभ्स, श्रीलंका र बंगलदेशसँग पनि सुमधुर सम्बन्ध छैन । नेपाल र भारतबीचको सीमा विवाद पनि दशकौदेखि समाधान हुन सकेको छैन । त्यसैले नेपालले आफ्नै हितका लागि पनि अध्यक्ष राष्ट्रको हैसियतमा सार्कलाई सक्रिय बनाउन विशेष चासो दिन आवश्यक छ ।
