काठमाडौं । दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ ।
मंगलवार नेप्से परिसूचक ११४.७० अंकले बढेर २ हजार ६२३.५६ बिन्दुमा पुगेको हो । त्यस्तै, नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १९.४६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंकले बढेको छ ।
मंगलवार कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको हो । सोमवारको कारोबारमा ३ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको थियो ।
नेप्से परिसूचकसँगै नेप्सेका १३ वटै उपसमूह हरियाली भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ९.७४ प्रतिशत बढेको छ भने लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
त्यस्तै,जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने ४ प्रतिशतभन्दा बढी बढेको छ । मंगलवार कारोबारमा आएका कम्पनीमध्ये २३ वटा कम्पनीकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
जसमा बुटवल पावर कम्पनी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मंगलवार एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सेयर बजारको सकरात्मक पक्ष
सेयर बजार चलायमान हुनु भनेको त्यो देशको आर्थिक गतिविधि पनि चलायमान छ भन्ने अर्थ लाग्छ । त्यसैले सेयर बजारलाई कुनै पनि राष्ट्रको आर्थिक चहलपहल कस्तो भइरहेको छ भन्ने सूचक पनि हो । सेयर बजारलाई सहि तरिकाले चलाउन जान्यो भने यसले देशलाई फाइदैफाइदा हुन्छ ।
सेयर बजारमा लगानी गर्दै त्यहाँबाट गरेको मुनाफालाई कुनै उद्यममा लगाउन सकियो भने आर्थिक गतिविधि बढ्दा परनिर्भरता घटाउन समेत मद्दत पुग्छ ।
सेयर बजारबाट विद्यार्थी र अवकाश जीवन विताइरहेकाहरुले पनि भरपर्दो आम्दानीको श्रोत बनाउँन सक्छन् ।