काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको टिकट बुधबार बिहान मात्रै खुल्ने भएको छ । अनलाइनबाट टिकट बुकिङ बन्द गरेर काउन्टरबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार बिहान ८ बजे जावलाखेल मैदानमा राखिने काउन्टरबाट मात्रै टिकट बिक्री सुरु हुने जनाएको छ । यसअघि अनलाइनबाट बुकिङ भइसकेका टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।
काउन्टरबाट टिकट लिँदा एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट मात्र लिन पाउनेछन् । रंगशालामा भीड बढ्न नदिनका लागि यो व्यवस्था लागु गरिएको हो । यसरी ११ हजार टिकटमात्र बिक्री गरिने जनाइएको छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकटको कोटा रहेको छ ।
फाइनल खेल दशरथ रंगशालामा हुनेछ । उक्त रंगशालाको प्यारापिट १५ हजार क्षमताको मात्रै छ । फाइनलमा नेपाल र बंगलादेश भिड्नेछन् ।