रुपन्देही । भारतबाट अवैध कुखुरा आयातले नेपाली किसान संकटमा परेका छन् । सुरक्षा निकायले चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिंदा भारतीय बोईलर कुखुराको अवैध आयात झनै मौलाउँदै जाँदा स्वदेशी कुखुरापालक किसानहरुले लागत मूल्य समेत पाउन सकिरहेका छैनन् ।
रुपन्देहीमा मात्रै दैनिक करिब ३० क्विन्टल कुखुरा भारतबाट अवैध रुपमा आयात हुने गरेको भन्दै कुखुरा तस्करी रोक्न किसानहरुले माग गरेका छन् ।
भारतबाट ठूलो मात्रामा अवैध रुपमा बोइलर कुखुरा भित्रिएर नेपाली बजारमा विक्रि हुँदा स्वदेशी कुखुरापालक किसान मारमा परेको गुनासो लामै समयदेखि सुनिदै आएको छ ।
सुरक्षा निकायले सीमामा चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित हुँदा अवैध आयात झनै मौलाएको किसानहरुको गुनासो छ । कुखुरापालक किसान संघ रुपन्देहीका अनुसार भारतसंग सीमा जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका दक्षिणी क्षेत्रका विभिन्न नाकाहरुबाट रुपन्देहीमा मात्रै दैनिक करिब ३० क्विन्टल वढि कुखुरा भारतबाट अवैध रुपमा नेपाल भित्रिने गरेको छ ।
भारतमा चल्ला, दाना र औषधिको मूल्य नेपालमा भन्दा धेरै सस्तो हुने भएकाले भारतीय कुखुराको मूल्य पनि स्वतः सस्तो हुने र भन्सार छलेर नेपालमा ल्याउँंदा मागभन्दा आपुर्ति बढी भई नेपाली किसानले लागत मूल्य समेत पाउन नसकी मारमा परिरहेका छन् ।
रुपन्देही बोइलर कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा भारतबाट ठूलो मात्रामा भित्रिंदाँ नेपाली किसानको कुखुरा विक्रि नहुने र विक्रि हुंदा समेत लागत मूल्य पाउन सकिरहेका छैनन् ।
खुला सीमाको फाइदा उठाउंँदै भारतबाट कुखुरा सहित विभिन्न वस्तुको अवैध आयात हुने गरेको स्वीकार गर्दै यसलाई रोकेर नेपाली किसानलाई बचाउन सुरक्षा निकाय इमान्दार भएर चेकजांचमा कडाई गर्नुपर्ने जिल्ला समन्वय समिति तथा बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
सीमा क्षेत्रका नेपाली कुखुरा फार्ममा दिनभर कुखुरा नहुने तर राति भारतबाट ल्याएर अर्को दिन नेपाली कुखुरा भन्दै बेच्ने गरिएको धेरै पटक भेटिएको कुखुरापालक किसानहरुको भनाई छ । रुपन्देहीमा साढे तीन सय कुखुरापालक किसान रहेका छन् । उनीहरुले वार्षिक औसत प्रति फार्म दश हजार कुखुरा उत्पादन गर्छन् ।
यस्तै, विगतका सरकारले अमेरिकाबाट कुखुराको मासु आयातलाई रोकेको अवस्थामा अहिलेको सरकारले खुला गरेर नेपाली किसानलाई पेशाबाटै पलायन हुने अवस्थामा पु¥याउन लागेको आरोप पनि किसानहरुको छ । सरकारी निकायले कुखुराको अवैध आयात पूर्णरुपमा रोक्न नसक्दा पेशा नै संकटमा परेपछि किसान आफैले अवैध आयातलाई निरुत्साहित गर्न स्वयंसेवक टोली गठन गरी अनुगमन गर्न शुरु गरेका छन् ।
बुटवलबाट शुरु भएको अनुगमन टोली १६ वटै पालिकामा गठन गरी सुरक्षा निकायसँग मिलेर भारतबाट हुने तस्करी रोक्ने तयारीमा जुटेको कुखुरापालक किसान संघ रुपन्देहीले जनाएको छ ।