News 24 Television
 यू–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरा रंगशाला जाँचिदैं 

काठमाडौं । नेपालमा क्रिकेटको क्रेज अत्याधिक भएपनि पूर्वाधार विकासमा ढिलाई भएको छर्लंगै छ । विना पूर्वाधार पनि नेपाली खेलाडीले उच्च स्तरकै प्रदर्शन गरिरहेका छन् । सन् २०२७ हुने अन्डर नाइन्टिन महिला क्रिकेट विश्वकपको खेल सञ्चालन गर्न पूर्वाधार तयार गर्ने कार्यले पोखरा क्रिकेट रंगशालामा तिब्रता पाएसँगै आइसिसीको टोलीले समेत पोखरा क्रिकेट रंगशालामा थुप्रै सम्भावना रहेको जनाएको छ । 

सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेटका खेल नेपाल र बङ्गलादेशमा हुँदैछ । नेपालमा हुने केही क्रिकेटका खेल काठमाण्डौमा मात्र नभई पोखरामा पनि हुनुपर्ने पोखरेलीको माग छ । अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का टोली पोखरामा छन् । 

आइसिसीका टोलीले पोखराको क्रिकेट मैदानको अवलोकन गरेसँगै यू–१९ महिला विश्वकप क्रिकेटका खेल पोखरामा हुन सक्छ कि भन्ने आश पलाएको छ । तथापि नेपालको कुन कुन ठाउँमा खेल हुने भन्नेबारे हालसम्म टुङ्गो भने लागेको छैन । आइसिसीका टोलीले पोखराको क्रिकेट मैदानको अवलोकन गरिसकेपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरियो । 

पत्रकार सम्मेलनमा आइसिसीका एसिया डेभलपमेन्ट म्यानेजर ईमान्यूल इस्लामले पोखराको क्रिकेट मैदान उत्कृष्ट छ तर यसलाई वल्र्डकप खेलाउन चाहिने आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् ।  

पोखराको क्रिकेट मैदानमा ५ वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटका खेलहरू भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यता पाएका कारण ती खेलहरूलाई उसले निगरानीमा राखेको थियो । त्यति बेला आउटफिल्ड ग्राउन्डसँगै पिच बनाइएको थियो भने प्लेयर बक्सदेखि भीआईपी बक्स अस्थायी रूपमा टेन्टले बनाइएको थियो । 

उक्त खेल भएको ५ वर्ष बितेपनि यसबीचमा संरचना निर्माणको नाममा एउटा ५०० क्षमता रहेको भीआईपी प्यारापिट बनेको छ । जुन प्रयोगमा आएको छैन । त्यसबाहेक कुनै पनि संरचना पोखरा क्रिकेट मैदानमा बनेको छैन । 

पोखराको क्रिकेट मैदानलाई विश्वकप खेलाउन सक्ने मैदान बनाउन नेपाल क्रिकेट संघ (क्यान) तयार रहेको बताउँदै आएको छ । क्रिकेटका प्रतियोगितालाई काठमाण्डौमा मात्र नभई देशैभरी फैलाउनु पर्ने र पोखराको क्रिकेट मैदान बनाउन क्यानले मात्र नसक्ने हुँदा सरकारले नै यसबारेमा सोच्नु पर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् ।

केही वर्ष अघिसम्म पोखरा र आसपासका खेलाडीहरु सामान्य तालिमदेखि प्रशिक्षणका लागि राजधानी काठमाडौं वा भैरहवा जानुपर्ने बाध्यता थियो । तर पोखरा क्रिकेट रंगशाला निर्माण भएयता त्यो बाध्यता मात्र हटेको छैन यहाँका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्ने र सिक्ने मौका पाएका छन् । 

पोखरा क्रिकेट रंगशालाको सम्पूर्ण पूर्वाधार निर्माणको लागि डिपिआर तयार भैसकेर कुल १ अर्ब ७७ करोड खर्च लाग्ने अनुमान समेत गरिएको थियो । तर लामो समयसम्म सरकारका उच्च निकायले यसको विकासमा खासै चासो नदेखाएपछि केही निराशा भने पलाएको छ । तरपनि न्यूनतम मापदण्ड पूरा गर्नेगरी खेलकुदका निकाय र राज्यले मैदानको बारेमा सोचिदिए विश्वकपका खेल खेलाउन सकिने क्रिकेट एसोसियसन गण्डकीका अध्यक्ष बताउँछन् । 

करिब ९० रोपनी जग्गामा रहेको पोखरा क्रिकेट रंगशालामा नेपाल र बंगलादेश, नेपाल र मलेसिया, साग च्याम्पियनसिप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता तथा पोखरा प्रिमियर लिग लगायतका राष्ट्रिय प्रतियोगिता सम्पन्न भैसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update