News 24 Television
एनपिएलमा दुई हार व्यहोरेका कर्णाली र विराटनगर, तेस्रो खेलमा मुस्किलको जित 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना चर्चित स्टार सन्दीप लामिछाने र सोमपाल कामी नेपाल प्रिमियर लिगमा पनि सर्वाधिक कमजोर सावित भए । सोमपाल तीव्र गतिका बलर हुन् भने सन्दीप अलराउन्डर । एनपिएलमा सन्दीपको टिम विराटनगर किंग्सले लगातार दोस्रो हार व्यहोरेपछि आलोचना खेप्यो । मंगलबार सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो एवं लज्जास्पद हार व्यहोरेको विराटनगरका कप्तान सन्दीप लगातार दुई खेलमा विकेटविहीन भए । यसअघि उद्घाटन खेलमा पनि विराटनगरले जनकपुर बोल्ट्ससँग ८ विकेटको फराकिलो हार नै व्यहोरेको थियो । बुधबार लुम्बिनी लायन्ससँग भएको खेलमा भने विराटनगरले मुस्किकले २ विकेटको जित हात पारेको छ । अघिल्ला दुवै खेलमा बलिङ र ब्याटिङमा विराटनगर फ्लप भएर प्रतियोगिताकै कमजोर टोली सावित भएको थियो । टिमको सबैभन्दा ठूलो आशा र भरोसा रहेका सन्दीप नै दुवै खेलमा फ्लप भएपछि उनका फ्यानहरु समेत निराश भएका थिए । तर बुधबार भने लुम्बिनीले दिएको एनपिएलकै सर्वाधिक १९२ रनको लक्ष्य समेत विराटनगरले ८ विकेट गुमाएर भेट्यो ।

लगातारको हारपछि दबाबमा देखिएका सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको स्वीकार गरेका थिए । मंगलबारको हारपछि सन्दीपले बलिङमा राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खराब नतिजा आएको बताएका थिए । उनले खेलजीवनमा हार हुने र यहीबाट माथि उठ्न सकिने विश्वास व्यक्त गरेका थिए । त्यो विश्वासले बुधबार भने काम गरेको देखिन्छ । घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने भन्दै सन्दीपले अघिल्ला दुई हारको जिम्मा चाहिँ लिएका थिए । 

सोमपालको टिम कर्णाली याक्सले पनि सोमबार जनकपुर बोल्ट्ससँग नै पहिलो हार व्यहो¥यो । दोस्रो हार भने बुधबार काठमाडौँ गुर्खाजसँग व्यहोरेको छ । जनकपुरसँग ८ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रन सम्मको योगफल बनाउने लक्ष्य भए पनि शीर्ष पाँच ब्याटरले राम्रो भुमिका खेल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका थिए । विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई काठमाडौँको पिच बुझ्न गाह्रो भएको सोमपालले बताएका थिए । आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास व्यक्त गरे पनि बुधबार दोस्रो हार व्यहोर्नुपर्यो । यद्यपि बुधबारको खेलमा उसले सुधार भने गरेको छ । कर्णालीका लागि शिखर धवनले अर्धशतक प्रहार गर्दै अविजित ७२ रन जोडे पनि कर्णालीले जित्न भने सकेन । धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटको हार चखायो । कर्णालीले दिएको १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । 

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दिएको विशाल लक्ष्य पछ्याएर विराटनगरले जित निकाल्दा बुधबार भने सन्दीपका फ्यानहरुको खुसी फर्किएको छ । यद्यपि बुधबारको खेलमा पनि सन्दीप भने कमजोर नै देखिएका छन् । विराटनगरको जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा अन्तिममा क्रिस सोलले प्रहार गरेको १ छक्का र २ चौका विशेष सम्झनलायक बने । अघिल्ला दुई खेलमा अंकविहीन रहेको विराटनगरले बुधबार पहिलो स्वादिलो जितसँगै अंकको खाता खोलेको छ । आशा छ, कर्णालीले पनि तेस्रो खेलमा स्वादिलो जित हात पार्ने छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update