News 24 Television
प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् । आईतवार नेपाल कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताउँदै उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिनलायक समेत नभएको जिकिर गरे । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए ।

उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गर्दै केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६,२०१८ र २०२४ मा गरिएको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । यसपटककाे भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालिन विकासमा सहयोग पुग्ने उनले बताए ।

अर्थमन्त्री पाैडेलले भने, ‘ प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरु प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धीपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालिन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ ।’

मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धी प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको दाबी समेत गरे । उनले सरोकारवालाहरुसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए । पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गर्दै उनले नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update