News 24 Television
बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने,रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गरे ।

सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको दाबी गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयास गरिरहेको बताए । राजश्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत मात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको उनकाे दाबी छ ।

अर्थमन्त्री पौडेलले भने, ‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले केलाइरहेको छ । समाधानका लागि एक-एक गरी कदमहरु चाल्दैछ । अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । त्यो सकारात्मकता एक्कासी आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो । तर त्यो त्यत्तिकै आएको होइन । त्यसको लागि सरकारले केही काम गरेको छ । राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन् । पुँजीगत खर्च पनि केही न केही मात्रामा बढेकै छ । लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई कसरी लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी कसरी भित्र्याउने,रोजगारी कसरी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल कसरी बढाउने यस विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं । सरकारले गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको छ । क्रमशः अर्थतन्त्रमा सूचकहरु सकारात्मक दिशामा फर्किएका छन् । त्यसलाई सरकारले तिब्रता दिएर सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसक्छौं । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौं । समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्ने अवस्था छ । त्यसमा सरकार प्रयासरत छ ।’

अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update