काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानुन नमान्ने खेलकुद संघहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।साथै उनले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने पनि बताए ।
आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भए पनि केही वर्षयता नराखेकोप्रति असन्तुष्टि जनाए । आगामी वर्षको बजेटमा खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने वाचा समेत गरे ।
खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको भन्दै मन्त्री चौधरीले कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी दिए । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको भन्दै उनले कारबाही गरिने बताए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरे पनि नमानेको भन्दै स्पष्टीकरण पठाएको समेत बताए । केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न सबै राजनीतिक दलका शिर्ष नेताहरुलाई आग्रह पनि गरे ।
उनले भने, ‘हामीले लगतार एक हप्तादेखि सर्वोच्च अदालतको फैसला पुनरावेदनको फैसला आइसकेपछि ओलम्पिक कमिटीको विषयमा व्यापक रुपमा खेलकुद मन्त्रालय र खेलकुद विभागबाट व्यापक रुपमा छलफल गरेर अघि बढ्यौँ तर सोचेअनुसारको नतिजा ल्याउन सकेनाँै । किनभने हामी खेलकुद मन्त्रालय चिठी दिने हो, परिपत्र, निर्देशन दिने हो । हामीले खेलकुद परिषद्मा दिने हो । हामी सर्वोच्च र पुनरावेदनबाट प्राप्त पत्र परिषद्मा पठायौँ । २७ वटै संघलाई हामीले यसमा तपाईंहरु सहभागी नभइदिनुस्, तपाईंहरुको खाता समेत रोक्ने प्रक्रिया हुनसक्छ, धेरै कारबाही हुनसक्छ भनेर हामीले धेरै पत्र पठायौँ । तर उहाँहरुले सुन्नु भएन । त्यो नसुनेपछि हामीले स्पष्टीकरण पठाएका छौँ । सायद केही दिनमा स्पष्टीकरणको जवाफ आउनेछ । केही दिनभित्र खेलकुद संघलाई कारबाही अघि जान्छ । खेलकुद संघलाई कारबाही अघि बढाउने कोशिस गरिरहेको छु । चाहे त्यो जेसुकै अवस्था आओस् । जसले नेपालको नियम नमान्ने, नेपालको कानून नमान्ने, खेलकुद ऐन नमान्ने व्यक्तिहरु खेलकुद संघमा बस्न उपयुक्त हुँदैन । त्यसकारण म आग्रह गर्न चाहन्छु, त्यस्तो व्यक्तिलाई नेपाली काँग्रेसको हरेक पाइलामा ठाउँ नदिन आग्रह गर्दछु । तपाईंहरु नै त्यस्तो व्यक्तिलाई ठाउँ दिनुहुन्छ भने नेपाली खेलकुद अघि बढ्न सक्दैन ।’
मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको पनि बताए । उनले नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो गर्दै विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्ने बताए ।