News 24 Television
ट्रम्पको शपथमै चकित पार्ने घटना ! विश्वमा के–के हुनेछ उथलपुथल ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अमेरिकाको वासिङट्न डीसीमा ट्रम्पले ४७ औं राष्ट्रपतिको शपथ लिएसँगै उनले अबको विश्वलाई कसरी दिशा निर्देश गर्लान् भन्ने चासो बढेको छ । 

डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । अमेरिकी संविधानको रक्षा गर्ने सपथ लिएका ट्रम्पको स्वागत भव्य गरिएको छ भने ४६ औं राष्ट्रपति जो बाइडेन बिदा भएका छन् । यस पहिले अमेरिकाको ४५ औं राष्ट्रपति बनिसकेका ट्रम्पले ४७ औं राष्ट्रपतिका रुपमा दोश्रो कार्यकाल शुरु गरेका हुन् । ट्रम्पको राष्ट्रपतिको कार्यकालबारेका विभिन्न अड्कलबाजी भने हुनेक्रम जारी छ । ट्रम्पले अमेरिकामात्रै नभएर विश्व समूदायलाई नै कस्तो प्रभाव पार्लान भन्ने चासोका साथै अवैध आप्रवासीलाई देशनिकाला गर्ने विषय समेत चर्चामा छ । आप्रवासीलाई देश निकाला गर्ने विषयले नेपाली समूदाय समेत त्रासमा देखिन्छ । 

विश्व समुदायमा ट्रम्पले पार्न सक्ने प्रभाव

१. विश्व अर्थतन्त्रमा क्रिप्टोको व्यापकता
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि नै क्रिप्टो बजार आकासिएको छ । ट्रम्पले आफ्नै क्रिप्टो समेत सार्वजनिक गरिसकेका छन् भने त्यसको मूल्य बढ्नेक्रम जारी छ । यता, आइटी उद्यमी एलन मस्कसँग उनको सम्बन्ध र मस्कको महत्वकांक्षी योजनाले समेत क्रिप्टो बजार उच्च बिन्दुमा पुग्ने विश्लेषण भइरहेका छन् । तर, क्रिप्टोको आवरणमा विश्वमै भइरहेको ठगी र अवैध माइनिङका घटनामा समेत बढोत्तरी हुने र वित्तिय अपराधको दायरा विश्वस्तरमै बढ्ने चिन्ता गर्न थालिएको छ । 

२. अमेरिकी डलरको अवस्था
ट्रम्प राष्ट्रपति बनेदेखि नै अमेरिकी डलरको मूल्य बढिरहेको छ । डलर बढ्नेक्रम नरोकिएका कारण पनि विश्वमा अन्य मुलुकका मुद्रामा संकुचन आउने र अमेरिकी डलर थप शक्तिशाली बन्दै जाने खतरा उत्तिकै छ । विश्वका धेरै देशहरु अहिले पनि अमेरिकी डलरमै कारोबार गरिरहेको बेला भारत, रुस, चीन लगायतका मुलुकले दिन खोजेको चुनौतिका कारण पनि मुद्राको अवस्थिति द्वन्द्धमा फस्ने खतरा देखिन्छ ।

३. औपनिवेशिक सोच
ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रिनल्याण्ड किन्नेदेखि पनामा नहरमा अमेरिकी नियन्त्रणको विषय उठाइरहेका छन् भने क्यानडालाई अमेरिकाको एक राज्य बन्नुपर्ने भनिरहेका छन् । उपनिवेशभन्दा पनि अधिनायकवादतर्फ ट्रम्पले पाइला चाल्ने खतरा देखिन्छ । जुन विषय विश्वका लागि नै खतराको विषय बन्न सक्ने देखिन्छ । 

४. शक्ति राष्ट्रसँगको टसल
ट्रम्पले अमेरिकी आधिपत्य जमाउनका लागि चीन लगायतका मुलुकलार्ई भारी कर लगाउने बताउदै आएका छन् भने अमेरिकी पक्षलाई सहुलियत नदिनेमाथि करका थप भार थोपर्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । यस्तोमा शक्तिशाली बन्दै गएका चीन, भारत जस्ता मुलुकसँगको द्वन्द्ध बढ्ने संकेत देखिन्छ । जसले विश्व अर्थतन्त्रमा नै खतरा पैदा गर्न सक्छ ।

५. असन्तुलनकारी परराष्ट्र नीति
ट्रम्प अमेरिका पहिलो भन्ने नाराबाट निर्देशित हुने ठान्छन् । राष्ट्रपतिको पहिलो कार्यकालमा इन्डो प्यासिफिकमार्फत एसियामा चिनियाँ प्रभाव कम गर्न अघि बढेका ट्रम्पले अहिलेको परराष्ट्र नीति पनि यसरी नै अघि बढाउन खोजेमा यसले एसिया क्षेत्रको शान्तिलाई कस्तो प्रभाव पार्ला ? भूराजनीति कस्तो स्थितिमा पुग्ला ? तमाम प्रश्नहरु जन्मिएका छन् । यसरी विभिन्न विषयमा अमेरिका मेक ग्रेट अगेन भनिरहेका ट्रम्पले पार्न सक्ने प्रभावका साथै केहि विषयमा विश्व समुदायलाई राहत दिनसक्छन् भन्ने विषय समेत सतहमा देखिन्छन् । यस्ता विषयहरु के हुन सक्छन् ?

१. युद्ध अन्त्यको प्रयास
ट्रम्पले इजरायललाई हमाससँगको युद्ध अन्त्य आफ्नो सपथ अघि नभए ठिक नहुने चेतावनी दिएको स्थिति र दुई पक्षबीच युद्ध विराम सम्झौता यहि तालिकासँग मिल्ने गरि हुनुलाई विश्वमा शान्तिको संकेत दिने विश्लेषण शंकासहित गर्न थालिएको छ । रुस–युक्रेन युद्ध पनि समाप्त पार्ने उनको भनाई आइरहेको देखिन्छ । भने यसमा पनि आशावादी हुने स्थिति छ । यहि कारण पनि रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण तीब्र पारिरहेको छ । यस्ता संकेतले विश्व युद्ध नहुने विश्लेषण गर्न थालिएको छ । 

२. चीनसँगको दूरी घटाउने विश्वास
ट्रम्पले अमेरिकी अदालतले चिनियाँ स्वामित्वमा रहेको टिकटक बन्द गर्ने अदालतको आदेशलाई कार्यान्वयन नगर्ने भन्दै टिकटक खुलाएका छन् । टिकटक चिनियाँ पक्षको प्रत्यक्ष चासोमा रहेको विषय भएकाले उनले टिकटकप्रति देखाएको सदासयतालाई दीर्घकालीन समाधानको बाटो खोज्दै दुबै पक्षले जित्ने स्थिति सिर्जना गर्न सकेमा दुई शक्ति राष्ट्रको द्वन्द्ध घट्ने स्थिति बन्न सक्छ । 

३. अमेरिकालाई बलियो पार्ने अभ्यासमा उत्तर कोरियादेखि रुसलाई पनि सन्तुलनको प्रयास
ट्रम्पले अघिल्लो कार्यकालमा समेत उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई भेटेका थिए । अहिले रुस युक्रेन युद्धमा उत्तर कोरियाले रुसको समर्थनमात्रै गरेको छैन्, सैनिक नै पठाएको छ । यस्तो स्थितिमा ट्रम्पको स्थितिले दुई मुलुकको वार्ता र उत्तर कोरियाको प्रमाणु अस्त्र विकासमा समेत केहि कमी देखिने विश्वास गरिएको छ । तर, ट्रम्पले आफ्नो प्रशासनलाई कसरी अघि बढाउँछन भन्ने विषयले धेरै विषय निर्धारण गर्नेछ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update