News 24 Television
नेपालले जितविहिन भएर टुंगियो यू १९ विश्वकप यात्रा

काठमाडौं । नेपाल आइसीसी अन्डर नाइन्टीन महिला टी–ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले जितविहिन भएर यात्रा टुंग्याएको हो । 

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग नेपाल ८३ रनले पराजित भयो । १४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल मात्र ५६ रनमा समेटियो । नेपाली टोलीकी कप्तान पूजा महतोले १८ रन जोडनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । एलिसा यादवले ९ रनमा रन आउट भएकी थिइन् भने साना प्रविन ८, सावित्री धामी ७ र सिमाना केसीले मात्र ६ रन जोडे । 

रिया शर्माले नटआउट १ रन जोडिन् । बलिङतर्फ अस्ट्रेलियाकी हसरत गिल, जुलिएट मोर्टन र लिली बासिङ्थवेइटले समान दुई विकेट तथा क्लो आइन्सवर्थले एक विकेट लिएकी थिइन् । 

टस जितेर पहिले ब्याटिङ रोजेको अष्टे«लियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । अष्टे«लियाकी कोइम्हे ब्रेले सर्वाधिक ४५ रन तथा इलियनर लारोसाले ३१ रन जोड्दा हसरत गिल ३० रनमा अविजित रहिन् । 

बलिङतर्फ नेपालकी पूजा महतोले ३, सिमाना केसीले २ तथा रिया शर्माले १ विकेट लिएकी थिइन् । नेपालको महिला टोलीले कुनै पनि फम्र्याट वा उमेर समूहमा अस्ट्रेलियासँग पहिलोपटक खेल्ने अवसर पाएको थियो । समूह चरणको अन्तिम खेलमा अष्टे«लियासँग पराजित भएसँगै नेपालको विश्वकप यात्रा टुंगिएको छ । 

विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग मात्र १ विकेटको हार ब्यहोरेको थियो । सो खेलमा नेपालले झिनो लक्ष्य पेश गरे पनि कसिलो बलिङका कारण स्कटल्याण्डले मुश्किलले जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा नेपाललाई  पराजित गरेको अष्टे«लिया भने तीन वटै अपराजित रहँदै सुपर सिक्समा पुगेको छ ।

विश्वकप यात्रा टुंग्याएको नेपालले अब शुक्रबार प्लेअफमा खेल्नेछ । शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । 

बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ । पछिल्लो समय क्रिकेटमा नेपाली महिला टोलीको प्रदर्शनी निकै उत्साहजनक थियो । विश्वकपको खेलले नेपाली टोलीलाई राम्रो अभ्यास मिलेको छ । आगामी दिनमा टोलीले अझ मेहनत गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update