
रुपन्देही । पछिल्ला केही दशकयता नेपालमा क्रिकेट लोकप्रिय छ । त्यसैले पनि धेरैले आफ्ना छोराछोरीलाई क्रिकेट खेल्न प्रोत्साहन गरिरहेका छन् । तर, धेरै ठाउँ क्रिकेट मैदान र एकेडेमीको अभाव छ । जसले गर्दा चाहेर पनि बालबालिकालाई परिवारले क्रिकेटमा अगाडि बढाउन सकेका छैनन् । तर, रुपन्देही यस्तो जिल्ला हो, जहाँ एकेडेमीमा सिक्दै, राष्ट्रियस्तरको रंगशालामा खेल्न पाइन्छ । यो अवसर रुपन्देहही क्रिकेट संघले प्रदान गरिरहेको छ ।
एक वर्ष अघिसम्म रुपन्देहीमा क्रिकेट सिक्न र प्रशिक्षण लिन चाहनेलाई निजी एकेडेमीमा जानु पथ्र्यो । आर्थिक अभाव भएका र महिला प्रशिक्षार्थीलाई एकेडेमी पुग्नै समस्या हुन्थ्यो । यस्तो अवस्थामा सबैलाई घरपरिवारले झट्ट पठाउन सक्दैन थिए । तर, अहिले त्यो अवस्था छैन । रुपन्देही क्रिकेट संघको पहलमा भैरहवामा सुविधासम्पन्न ‘रुपन्देही क्रिकेट एकेडेमी’ बनेको छ ।
भैरहवामा रहेको राष्ट्रियस्तरको सिद्धार्थ रंगशालासँगै विगत एक वर्षदेखि यहाँ क्रिकेट एकेडेमी संचालनमा छ । जसले गर्दा क्रिकेट सिक्न र प्रशिक्षण लिन चाहनेलाई सहज भएको छ । एकेडीमा रुपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा लगायत जिल्लाका १ सय ६० जना बालिबालिकाले अहिले क्रिकेट सिकिरहेका छन् ।
संघले प्रशिक्षक नियुक्त गरेरै एकेडेमीमा क्रिकेट सिकाइरहेको छ । एकेडेमीमा प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीले नजिकै रहेको ठूलो मैदानमा खेल कौशल सिक्न पाएका छन् । यहाँ बेलाबेला नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही, पूर्व राष्ट्रिय खेलाडीले पनि प्रशिक्षण दिने गरेका छन् । यसले प्रशक्षिण लिइरहेका खेलाडीमा हौसला मिलेको छ ।
शुलभ दरमा फराकिलो एकेडेमीमा अनुभवी प्रशक्षिकबाट प्रशिक्षण लिन पाउँदा खेलाडी खुशी छन् । स्तरीय एकेडेमीमा प्रशिक्षण पाएका प्रशिक्षार्थीले भोलिका दिनमा राष्ट्रिय टिममा पर्ने लक्ष्य बोकेका छन् ।
क्रिकेट सिकीरहेका खेलाडीहरुमा प्रशिक्षणले निखारता ल्याएको छ । त्यतिमात्रै होइन यहाँ सिकेका खेलाडीले जिल्लास्तरीय लिगहरु खेल्न थालिसकेका छन् । क्रिकेटमा प्रशिक्षण, मेहनत, अनुशासन र निरन्तरता जरुरी हुन्छ । यी कुराले नै खेलाडीलाई अब्बल बनाउँदै लैजाने प्रशिक्षकहरु बताउँछन् ।
संघले क्रिकेट सिक्न चाहने तर आर्थिक अवस्था कमजोर भएकालाई छुटसहित प्रशिक्षण संचालन गरेको छ । यस्तै, महिलाहरुलाई निःशुल्क र अन्यलाई न्युनतम शुल्क लिएर एकेडेमीमा प्रशिक्षण दिने गरिएको छ । यसले क्रिकेटप्रति लगाब भएका बालबालिकालाई अवसर सिर्जना गरेको छ ।
रुपन्देही क्रिकेट खेल र खेलाडी उत्पादनमा मुलुककै हब मानिन्छ । जिल्लाबाट मात्रै करिब एक सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । यहाँ एकेडेमीमा भर्ना हुँदा सुरुमा ब्याट र बल समेत राम्रोसँग समात्न नजानेका बालबालिकाहरु प्रशिक्षणले निखारिएका छन् ।
२०८० माघ १५ देखि संचालनमा आएको एकेडेमीमा अहिलेसम्म प्रशिक्षार्थीबाहेक स्थानीय क्लबहरु, प्रदेश, राष्ट्रिय तथा विभागीय टिम आबद्ध २ सय बढी खेलाडीले प्रशक्षिण लिइसकेका छन् ।