News 24 Television
अपराजित रहँदै एपीएफ बन्यो महिला लिग च्याम्पियन

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवले एन्फा महिला लिग फुटवल च्याम्पियन बनेको छ । यसअघिका सबै लिगको विजेता एपीएफ यो पटक अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफलाई लिगको पहिलो चरणमा पुलिसले बराबरीमा रोके पनि अन्य खेलमा कसैले रोक्न सकेनन् । 

एन्फा महिला लिग फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । लिगमा अपराजित रहँदै एपीएफले उपाधि चुमेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफल उपाधि जितेको हो । महिला लिग पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको थियो । 

बुधबार भएको फाइनलमा एपीएफका लागि सविता रानामगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । पहिलो हाफको खेलमा गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा पुलिसलाई दबाबमा राखेको एपीएफले लगातार ४ गोल गरेको हो । खेलको ६४औं मिनेटमा सबिता राना मगरले गोल गरिन् । 

सरू लिम्बुले बक्स भित्रबाट दिएको बललाई सबिताले जाली चुमाएकी हुन् । त्यसको चार मिनेट लगत्तै ६९ औं मिनेटमा सरुले गोल गरिन् । यस्तै, खेलको ८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्को गोल गरिन् भने इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टको सदुपयोग गर्दै गोल गरिन् । एपीएफले पुलिसलाई तेस्रो पटक पराजित गरेको हो । 

एपीएफसँगै र पुलिस पुलिस क्लव पनि क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको थियो । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो । 

अन्तिम चरणको डबल राउन्ड रोबिन फरम्याटमा एपिएफले ८ मा ८ खेल नै जितेर पहिलो क्वालिफायरको हकदार बनेको थियो । 

पहिलो चरणमा एपीएफ एक खेलमा पुलिससँग बराबरीमा रोके पनि बाँकी सबै खेल जित्न सफल भएको हो । एपीएफले २०६८ सालदेखि भएको फरक फरक प्रणालीको उपाधि निरन्तर जित्दै आएको छ । उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

अनु लामाको सन्यास 

एपीएफबाट एन्फा महिला लिग फुटबल खेलेर उपाधि जिताए लगत्तै राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले घरेलु फुटवलबाट सन्यास लिएकी छन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्यासको घोषणा गरेकी उनले राष्ट्रिय महिला लिग सम्पन्न भए लगत्तै घरेलु फुटवलबाट पनि सन्यास लिएकी हुन् । 

बुधबारको खेल सम्पन्न भएपछि अनुले बुट थन्क्याएकी छन् । महिला लिग फुटवलको फाइनल खेलपछि उनलाई एपीएफका खेलाडीहरुले ‘गार्ड अफ अनर’ प्रदान गरेका थिए । बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् । अनुले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update