
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आउँदो महाधिवशेनबाट पनि पार्टीको नेतृत्वमा दोहोरिने मनस्थितिमै छन् । अहिलेसम्म पार्टीमा निर्विकल्पजस्तै रहेका अध्यक्ष ओली चितवनमा सम्पन्न एमालेको दशौँ अधिवेशनबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
उक्त महाधिवेशनमा उनीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावललाई ओलीले कारवाही गरिसकेका छन् । त्यस्तै सर्वसम्मतिबाट कार्यसमिति चयन गर्न भएको प्रयासमा साथ नदिएका घनश्याम भूषालजस्ता नेताहरु पनि अहिले एमालेमा छैनन् ।
त्यस्तै पार्टीको नेतृत्व गरिसकेका नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि एमाले परित्याग गरिसकेका छन् । यो अवस्थामा एमालेमा ओलीको एकछत्र राज चलिरहेको छ भने उनले आगामी महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बन्ने तयारी गरिरहेका छन् । जसका लागि विधानमा भएका अफ्ठ्याराहरुसमेत संशोधन गर्ने ओलीको तयारी छ ।
विद्या रोक्न कस्सीएका ओली
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले सक्रिय राजनीतिमा आउने मनाशाय नै राखेर आफ्नो गतिविधि बढाइरहेकी छन् । विद्याको यो गतिविधिले सिंगो एमाले पार्टी नै तरंगित बनिरहेको छ । उनको संक्रियतासँगै के राज्यको अभिभावकीय पदमा रहेका व्यक्ति पुनः दलीय राजनीतिमा फर्किनु उचित हो ? भन्ने प्रश्नसमेत आम रुपमा उठिरहेको छ । तर यो विषयमा एमाले नेताहरु नै खण्डित भइरहेका देखिन्छन् । विद्या सक्रिय राजनीतिमा प्रवेश गर्ने भन्ने विषयमा एमालेकै नेताहरु दुई धारमा विभाजित देखिएका हुन् ।
अध्यक्ष केपी शर्मा ओली नै विद्या संक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् । ओलीले यो विषयमा विरोध नै नगरेपनि उनी घुमाउरो तवरले आलोचना भने गर्दै आएका छन् । विद्याले राष्ट्रिपतिबाट अवकास प्राप्त गरेलगत्तै राजनीतिमा आउने संकेत गरेका थिए । यद्यपि यही विषयमा संमाचार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति ओलीले असन्तुष्टि पोख्न भ्याएका थिए ।
हुनत : एमालेभित्रै विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने पक्षमा पनि आवाज उठ्ने गरेको छ । तर यो आवाजलाई अध्यक्ष ओलीले खासै रुचाउने गरेका छैनन् । एमालेमा अध्यक्ष ओलीलाई सन्तुलित पार्न पनि विद्यालाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने माग बढ्दो छ । तर विद्याको राजनीतिक पुनरागमनलाई रोक्न ओलीले एमालेमा गुट नरहेको र त्यस्तो हुन नदिनका लागि आफू सबै पक्षलाई सम्बोधन गर्ने भन्दै नेताहरुलाई आश्वसन दिइरहेका छन् । यद्यपि ओलीको यो रणनीतिले विद्यालाई पार्टी पुनरागमनमा रोक लगाउन सक्ने छाँटकाँट देखिँदैन ।
पछिल्ला विभिन्न कार्यक्रममासमेत सक्रिय रुपमा सामेल भइरहेकी विद्या राजनीतिमै फर्किने पूरापुर संकेत गरिरहेकी छन् । पछिल्ले साता पूर्वी नेपालका विभिन्न क्षेत्रमा भएका कार्यक्रममा सरिक भएकी विद्याले आफूले राजनीति सुरु गरेको स्थान विराटनगरमा पत्रकार सम्मेलन नै गरेर राष्ट्रपतिको पद गैर राजनीतिक नभएको बताएकी थिइन् । त्यस्तैगरी उनले आफू अझै राष्ट्रिय राजनीतिमा सक्रिय नै रहेको प्रष्ट पार्दै आउँदो दिनमा पनि यस्लाई निरन्तरता दिने उल्लेख गरिन् ।
विद्याले ७ वर्षभन्दा बढी राष्ट्रपति पदमा रहेर काम गरिसकेकी छन् । यहीबीच उनीसँगै माओवादीबाट उपराष्ट्रपति बनेका नन्दकिशोर पुन पनि सक्रिय राजनीतिमा आउने विषयले चर्चा पाइरहेको छ । नन्दकिशोरको माओवादी पुनरागमन गर्ने चाहनालाई समेत सकारात्मक मानेकी विद्याले आफू पनि सक्रिय राजनीतिमा फर्कनसक्ने सन्देश प्रष्ट दिइरहेकी छन् । तर एमालेभित्र भने विद्या पुनः सक्रिय राजनीतिमा फर्कने विषयलाई निको मानिएको छैन ।
ओली निकटकै नेताहरु मुलुककै अभिभावक भइसकेका व्यक्तिहरु पुनः पार्टीकै प्रत्यक्ष कार्यकारी भुमिकामा फर्कनु उचित नभएको तर्क गरिरहेका छन् ।
विद्यादेवी भण्डारी तत्कालीन समयमा एमाले उपाध्यक्ष थिइन् । उनी उपाध्यक्ष रहँदै एमालेले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर झण्डै दुई कार्यकाल राष्ट्रपति भइसकेपछि विश्राममा रहेकी विद्याको सक्रिय राजनीतिमा फर्कने चाहानाले एमाले नेतृत्व नै विचलित भइरहेको हो । यो अवस्थामा ओली र उनी निकट नेताहरु विद्यालाई सक्रिय राजनीतिमा फर्कनबाट रोक्ने मनस्थितिमा देखिन्छन् ।
पार्टी नेतृत्वमा ओलीले आफू रहुञ्जेल निर्विकल्प अध्यक्ष दावी गरिरहँदा एमालेमा विद्यालाई पार्टीमा ल्याएर नेतृत्व सुम्पन सकिने सम्भावनाको खोजी गर्ने नेताहरु पनि देखिएका छन् । तर ओली पक्ष भने विद्यालाई विषेश परिस्थिती बाहेक कुनै हालतमा सक्रिय राजनीतिमा ल्यान नहुने तर्क गरिरहेका छन् । विद्यालाई पार्टीमा ल्याउनुपर्ने र ल्याउन नहुने पक्षको मत भिन्नताले पनि एमालेमा बबण्डर हुनसक्ने खतरा पैदा भइरहेको छ ।