News 24 Television
ओली र प्रचण्डको बाटैघाटै जुहारी : एक–अर्कालाई ‘फटाहा’को नाइके भन्दै धारेहात ! 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि खनिएका छन् । पूर्व–प्रधानमन्त्री समेत रहेका प्रचण्ड ओलीले अघिल्लो सरकारका कामलाई बदनाम मात्र गरेर लाञ्छना लगाएको भन्दै आक्रोशित देखिन्छन् । ओलीजस्तो ‘फटाहा’ मान्छेको हातमा देश परेको भन्दै प्रचण्डले फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख नपाउने बताए । गत असारमा प्रचण्डलाई सत्ताच्युत गर्दै काँग्रेस–एमाले मिलेर सरकार बनाएदेखि नै प्रचण्डले विशेषगरी प्रधानमन्त्री ओलीलाई निरन्तर प्रहार गर्दै आएका छन् । ओलीले पनि प्रचण्डलाई तथानाम भन्दै धारेहात लगाउँदै आएका छन् । यी दुई नेताको जुहारी जनताका लागि रमाइलोबाहेक केही देखिँदैन । आफूले सत्ता पाए ठीक, अरुले पाए बेठीक भन्ने दुवैका भनाइ र गराइबाट प्रष्ट भइसकेको कुरा हो ।

मंगलबार म्याग्दीमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा रहेका ओलीजत्तिको धुर्त र ढाँटछल, जालझेल गर्ने मान्छे अर्को नरहेको बताए । प्रचण्डले आफूलाई समेत ओलीले स्वर्ग र नर्क सँगै जाने कसम खाएर रातारात काँग्रेससँग गठबन्धन गरी ढाँटछल गरेको भन्दै जनतालाई पनि त्यसरी नै ढाँटिरहेको आरोप लगाए । असार १७ गते राति काँग्रेस–एमालेले ७ बुँदे सहमति गरेको कुरा उप्काउँदै प्रचण्डले आफूप्रति जालझेल गरेर सरकारबाट हट्न बाध्य पारेको बताए । अहिले पनि आफूप्रति अनेक भ्रम फैलाउने काम ओलीबाट भएको बताउँदै उनले यस्ता फटाहा मान्छे प्रधानमन्त्री हुँदा देशले सुख नपाउने जिकिर गरेका हुन् । 

२०६४ सालको संविधानसभा निर्वाचन सम्झँदै प्रचण्डले जनताले त्यतिबेला माओवादीलाई अपार माया गरेको बताए । कांग्रेस र एमालेलाई पछारेर आफूलाई पहिलो दलको नेता बनाएको स्मरण गर्दै उनले त्यसपछि जनताको माया पचाउन नसक्दा माओवादीको यो हविगत भएको बताए । उनले भने, ‘हामीले भुइँ छाड्न थाल्यौँ, जनताको अपार माया पचाउन सकेनौँ । तर अब फेरि जनताको घरदैलोमा पुग्ने कसम खाएको छु ।’ 

सत्ताबाट हटेदेखि नै देशका विभिन्न भागमा पुगी जनतासँग घुलमिल हुने प्रयासमा रहेका प्रचण्ड आगामी निर्वाचनका लागि आधार बनाउँदै गरेको देखिन्छ । काँग्रेस–एमालेसँग मिल्ने बाटो बन्द भएपछि बाध्य भएरै पनि माओवादीले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । त्यसैको उपज हो– प्रचण्डका खबरदारी सभा र प्रधानमन्त्रीविरुद्धका भाषणहरु । सत्तामा पुगेपछि ओलीले काँग्रेस–एमालेका भ्रष्टहरुलाई जोगाएर विपक्षीलाई जेल हाल्न अग्रसर रहेको प्रचण्डले बेलाबेला बताउने गरेका छन् । गिरिबन्धु टि–स्टेटमा प्रधानमन्त्री ओलीले गरेको बद्मासी लुकाउन आफूलाई सत्ताबाट तानाशाही प्रवृत्तिले हटाएको भन्दै प्रचण्डले झापामा आयोजित खबरदारी सभामा पनि ओली देशकै सबैभन्दा जाली, झेली, कपटी र बेइमान रहेको आरोप लगाएका थिए ।

उता, सत्तामा रहेका प्रधानमन्त्री ओली पनि प्रचण्डप्रति कठोर टिप्पणी गर्नमा अग्रसर छन् । उनले प्रचण्डलाई जाली–फटाहाको नेता र भ्रष्टहरुको संरक्षक भन्दै टिप्पणी गर्ने गरेका छन् । गत मंसिर २८ गते एक कार्यक्रममा ओलीले देशमा माओवादी आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको आरोप लगाए । नराम्रा कामहरुको नेतृत्व प्रचण्डले गरिहेको आरोप लगाउँदै आफू भने जतिसुकै भ्रम पैदा गरे पनि सहेर बसिरहेको उनको जिकिर थियो । ओलीले अर्को एक कार्यक्रममा प्रचण्ड नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको र आफू आएर जोगाएको जिकिर गरे । मुलुक अपm्ठेरोमा परेकाले काँग्रेस–एमाले मिल्नुपरेको जिकिर गर्दै ओलीले प्रचण्ड सरकार ढल्ने भाषणमा रमाउँदै हिँडेको टिप्पणी समेत गरेका थिए । 

सत्ताका लागि जे पनि गर्न पछि नपर्ने र एक–अर्काविरुद्ध गालीकै शैलीमा कटु आलोचनामा उत्रिने गरेका ओली र प्रचण्ड दुवैबाट देशले आशा गर्ने ठाउँ भने छैन । दुवैले पटकपटक सत्ता चलाउँदा पनि जनता र देशले राहत महसुस गर्न सकेका छैनन् । चुनावी स्वार्थका लागि जनताको सहानुभूति बटुल्ने, विरोधीको दुष्प्रचार गर्ने र आफूलाई महान् देखाउने रोग नेपाली राजनीतिकै साझा रोग हो । जसको प्रयोग ओली–प्रचण्डले गर्दै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update