
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको स्वामित्व अमेरिकाले लिनुपर्ने धारणा सार्वजनिक गरेर विश्व राजनीतिमा तरंग पैदा गरेका छन् ।
ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगको भेटमा उनले गाजाको स्वामित्व लिएर पूननिर्माण गर्दै मध्यपूर्वको आर्थिक केन्द्र बनाउन चाहेको उल्लेख गरेका छन् । तर यदी अमेरिकाले गाजाको स्वामित्व लिएमा राष्ट्रपति ट्रम्पले भनेजस्तै हुनेछ कि मध्यपूर्वमा झन ठूलो अस्थिरता बढाउने छ ?
डोनाल्ड ट्रम्पले आफ्नो अघिल्लो राष्ट्रपति कार्यकालमा इजरायलको समर्थनमा विभिन्न कदम चालेका थिए । त्यसैले अहिले दोस्रो राष्ट्रपति कार्यकालमा पनि उनले अरब जगतमा मात्रै नभएर सम्पुर्ण विश्वमा नै तरंग उत्पन्न हुने गरी गाजाको स्वामित्व अमेरिकाले लिन चाहेको बताएका छन् ।
उनले गाजाको प्रशासन अमेरिकाले लिए शान्ति स्थापना गर्न सकिन्छ भन्ने तर्क गरेका छन् । गाजा हमासको नियन्त्रणमा रहँदा आतंकवाद बढ्ने खतरा रहेको बताउँदै अमेरिकाले प्रत्यक्ष नियन्त्रण लिए स्थायित्व ल्याउन सकिने दाबी उनले गरेका छन् ।
ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालको पहिलो विदेशी पाहुना बनेर ह्वाइट हाउस पुगेका इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग आयोजित पत्रकार सम्मेलनमा उनले गाजाको विकास गर्न आफूले चाहेको र त्यसबाट मध्यपूर्वको रिभिएरा अर्थात् समुन्द्रतटीय बिदा मनाउने स्थल स्थापना हुने र यसका लागि १५ वर्षसम्म लाग्ने उनको भनाइ छ । ट्रम्पको योजना सुन्ने बित्तिकै इजरायली प्रधानमन्त्रीले अद्भुत परिकल्पना भन्दै स्वागत गरिसकेका छन् ।
अमेरिकाले स्वामित्व लिए के हुन्छ ?
१. गाजा अन्तर्राष्ट्रिय रूपमा प्यालेस्टिनियन भूभाग हो । अमेरिकाले स्वामित्व लिन खोजेमा यो विद्यमान अन्तर्राष्ट्रिय कानून विपरीत हुनेछ ।
२. अमेरिकाको यस्तो किशिमको दख्खलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व झन पेचिलो हुन सक्छ ।
३. गाजा अमेरिकाको नियन्त्रणमा गएमा अरब राष्ट्रहरू असन्तुष्ट हुनेछन्, जसले मध्यपूर्वमा नयाँ तनाव सिर्जना गर्दै क्षेत्रीय अस्थिरता झन बृद्धि हुनेछ ।
अरब देशहरू र विश्वमा प्रभाव
अमेरिकी राष्ट्रपतिको यस्तो अभिव्यक्तिलाई साउदी अरेवियाले कडारुपमा विरोध जनाइसकेको छ । त्यसैले साउदी अरेबिया, इरान, टर्की लगायतका मुस्लिम देशहरूले अमेरिकाको गाजामा हस्तक्षेपलाई उपनिवेशवादको नयाँ रूप मानेर विरोध गर्नेछन् ।
उता, रुस र चीनले पनि अमेरिकी यस्तो कदमलाई आक्रामक नीति भनेर अमेरिकासँग रुष्ट हुने बाँकी विश्वलाई आफ्नो खेमामा ल्याउने प्रयन्त गर्न सक्छन् ।
ट्रम्पको यो भनाई उनको चुनावी रणनीतिमा आधारित रहेर आएको पनि हुनसक्छ । तर अमेरिकाले गाजामा हस्तक्षेप गर्ने सम्भावना न्यून छ, तर यदि यस्तो भयो भने विश्व राजनीतिको समीकरण नै परिवर्तन हुनसक्छ ।