
सप्तरी । सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् ।
सडक डिभिजन कार्यालय लहानले गरेको टेन्डरमा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा ठेक्का कबोल गरी २०७९ असार २३ मा राजविराज भारहद सडक निर्माणको सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ असारभित्र निर्माण सक्नुपर्ने थियो ।
समयमै नसकिएपछि फेरि एक वर्ष म्याद थपियो । तर थपिएको समयभित्र पनि निर्माण कार्यले गति नलिदाँ निर्माण कार्य अलपत्र देखिएको हो । अहिले राजविराज–हनुमाननगर–भारदह खण्डअन्तर्गत झल्ही नहरको पुलदेखि साढे आठ किलोमिटरसम्म काम गर्नुपर्ने रहेको छ ।
थप गरिएको म्याद सकिन चार महिना मात्र बाँकी छ । तर सडकको भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । ठेकेदारको लापरवाहीले सडक बर्षायाममा हिलो र सुख्खायाममा धुलाम्मे हुने गरेको छ ।
स्थानीयका अनुसार सडकमा रहेको खाल्डोका कारण दुर्घटना पनि पटकपटक हुने गरेको छ । राजविराजबाट दैनिकी थप उपचारको लागि धेरै बिरामी यही सडकबाट धरान वा विराटनगर जाने गर्छन् । बिरामीलाई लिएर जाँदा सडकका कारण निकै समय र सास्ती पाइरहेको एम्बुलेन्स चालक बताउँछन् ।
सडक निर्माणको लागि पटकपटक स्थानीयले आन्दोलन गरिसकेका छन् । तर सडक निर्माणतर्फ सरोकारवालाको ध्यान नगएको स्थानीयको आरोप छ । काममा ठेकेदार कम्पनीको ढिलासुस्ती रहेको सडक डिभिजन लहानका प्रमुख सिडिई आशुतोष कर्ण बताउँछन् ।
पटकपटक ताकेता गरेर कामलाई गति दिन ठेकेदार कम्पनीसँग समन्वय नगरेको उनको भनाइ छ । यता, ठेकेदार कम्पनीले भने सडक कार्यालयले समयमै भुक्तानी नदिदाँ यस्तो समस्या आएको बताउँछ । कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा उनीहरु सम्पर्कमै आउन चाहदैनन् ।