
काठमाडौं । गोदावरी नगरपालिका १० मा रहेको झ्यालुन्टारको मैदानमा उपत्यकाव्यापी अन्तर पालिका ‘गोदावरी मेयर कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । स्वास्थ्य, रोजगारी र खेलको सम्बन्ध जोड्ने प्रतियोगिता आफैंले काठमाडौं उपत्यकाको स्थानीय फुटबलमा ठूलो उत्साह थप्ने संकेत दिएको छ ।
गोदावरी नगरपालिकाको आयोजनामा सुरु भएको दोस्रो उपत्यकाव्यापी अन्तर पालिका ‘गोदावरी मेयर कप’ फुटबल प्रतियोगिता शनिबारदेखि प्रारम्भ भएको छ । उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखकको उपस्थिति र उनका स्वास्थ्यसँग खेलको सम्बन्ध जोड्ने मन्तव्यले खेलाडी मात्र होइन, खेलप्रेमीलाई समेत उत्साहित बनाएको छ ।
खेलकुदको विकासका लागि भन्दै नगरपाकिलाको आयोजनामा भएको यो कार्यक्रम विशेष तामझामसहित सुरु गरिएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १३ वटा पालिकाको प्रतिनिधित्व रहेको छ । सहभागी पालिकाहरूलाई चार समूहमा बाँडिएको छ ।
समूह ’ए’ मा ४ टोली र समूह ’बी’, ’सी’, ’डी’ मा ३–३ टोली छन् । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुँदा खेल अझ प्रतिस्पर्धात्मक बन्ने आयोजकको भनाई छ ।
प्रतियोगिता केवल खेल मात्र नभई भविष्य निर्माणको अभियान रहेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बताउँछन् । झ्यालुन्टारमा निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालालाई देश–विदेशमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
यसले भौतिक पूर्वाधारको विकाससँगै पर्यटन र लगानी प्रवद्र्धनमा समेत भूमिका खेल्ने विश्वास गरिएको छ । खेललाई रोजगारीसँग जोड्न आवश्य रहेको वक्ताहरुले औंल्याएका छन् ।
झ्यालुन्टार मैदानमा उद्घाटन समारोहकाबीच शनिवार आयोजक गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच उदघाटन खेल सम्पन्न भएको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । खेल अनुशासनमा उत्कृष्ट टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसले खेलाडीहरूमा व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्न थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ भने यो प्रतियोगिता उपत्यकाको फुटबल परिदृश्यमा नयाँ ऊर्जा भरिदिने संकेत गरेको छ ।