News 24 Television
रोहित र सन्दीपकै भर, कोर टिममा नयाँलाई चान्स 

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सञ्चालन गरेको ‘दी कोर क्याम्प’ जारी छ । क्रिकेटरको क्षमता अभिबृद्धि गर्ने उदेश्य सहित क्यानले कोर टीममा क्याम्प सञ्चालन गरेको हो । 

पहिलो चरणमा ५२ जना खेलाडीलाई चार समुहमा विभाजन गरिएकोमा दोस्रो चरणमा २५ जना खेलाडी समेटिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा घोषित टोलीमा चल्तीका नाम अलराउन्डर कुशल मल्ल र देव खनाल अटाएका छैनन् । 

स्कटल्याण्ड सिरिज खेल्नुअघि बेलायतमा ५ खेलको तयारी गर्नेछ । नेपालले आगामी जुन महिनामा नेदरल्याण्डस् र स्कटल्याण्ड सम्मिलित टि–२० र लिग–२ शृङ्खला खेल्नेछ । 

यतिबेला नेपाली खेलकुदमा धेरै समर्थक बटुलेको खेल हो, क्रिकेट । त्यो पनि पुरुष क्रिकेटलाई नेपाली समर्थकको अध्याधिक चासो र चिन्ता देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली क्रिकेटको रामै्र चर्चा छ । क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यानले नेपाल क्रिकेटलाई विश्वस्तरीय बनाउन हरदम प्रयास गरिरहेको छ । 

नेपाली खेलाडीले क्रिकेट खेलेरै घर, गाडीको जोहो गर्न सक्ने अवस्था बनेको छ । क्यानले गत बर्ष पुसमा सम्पन्न गरेको नेपाल प्रिमियर लिग एनपीएलले विश्वको ध्यान खिच्न सफल भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको चर्चा र खेलाडीको खेल कौशलतालार्ई मध्यनजर गर्दै क्यानले विभिन्न जुक्ति लगाइरहेको छ । 

पछिल्लो चार महिना नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट भन्दा घरेलु क्रिकेटमा व्यस्त छ । क्यानले घरेलु क्रिकेटमा दमदार प्रदर्शन गरेका ५२ जना खेलाडीलाई समेटेर कोर टिम क्याम्प सञ्चालन गर्याे । पहिलो चरणमा ५२ जना खेलाडीलाई चार समुहमा विभाजन गरेको क्यानले निलो, हरियो, रातो र पहेलो नाम दिएको थियो । 

पहिलो चरणको कोर टिम क्याम्प सकिएपछि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा २५ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । दोस्रो चरणमा २५ जना खेलाडी क्याम्पबाट मुख्यप्रशिक्षकको जिम्मेवारीमा आएका अष्ट्रेलियन स्टुआर्ट ल ले अन्तिम टोलीको टुंगो लगाउनेछन् । त्यसपछि औपचारिक रुपमै स्टुआर्टले नेपाली टोली सम्हाल्दै अन्तर्राष्ट्रिय खेलमा आफ्नो यात्रा सुरु गर्नेछन् । नेपाली टोलीका ठुला नाम भन्दा पनि काममा ध्यान दिने बचन दिएका स्टुआर्टले क्षमतामा विशेष ध्यान दिने बताइसकेको छन् । 

कुशल मल्ल र देव खनाल टोली बाहिर 

कोर टिम क्याम्पको पहिलो चरणबाटै दुई चर्चित अनुहारका अलराउन्डर कुशल मल्ल र ब्याटर देव खनाल बाहिरिएका छन् । पहिलो चरणको क्याम्पमा प्राथमिकतामा रहेका कुशल र देव नेपाली टोलीको मुख्यप्रशिक्षकक स्टुआर्ट ल को नजरमा परेनन् । 

पछिल्लो समय नियमित राष्ट्रिय टोलीको हिस्सा बन्दै आएका कुशल बाहिरिदा उनका समर्थक निरास बनेका छन् । तर मुख्यप्रशिक्षक स्टुअर्टले नाम भन्दा पनि काम हेरेर अन्तिम टोलीको टुंगो लगाउने बताइसकेका छन् । २५ सदस्यीय टोलीमा नयाँ र खेलाडीको नाम समावेस छ । यसले पनि स्टुआर्टको रणनीति थप प्रस्ट भएको छ । 

स्टुअर्टले घोषणा गरेको टोलीमा कप्तान रोहित कुमार पौडेल सहित आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, दिपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, रिजान ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकार रहेका छन् । 

नेपाली टोलीको यूके भ्रमण

नेपाली राष्ट्रिय टोलीले आगामी जुन महिनामा स्कटल्याण्डमा हुने लिग–२ र टि–२० शृङ्खला खेल्नुपुर्व मे महिनामा युके भ्रमण गर्नेछ । क्रिकेटको उर्वर भुमि मानिएको बेलायतमा नेपाली क्रिकेट टोलीले ५ अभ्यास खेल खेल्नेछ । 

‘राइनोज टुर अफ यूके’ नाम दिइए टुरमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग एकदिवसीय र टि–२० खेल्ने तालिका छ । नेपालले मे १६ मा कार्डिफ विश्वविद्यालय विरुद्ध कार्डिफमा पहिलो एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ । 

त्यसपछि मे १९ मा एमसीसी (मेरिलबोन क्रिकेट क्लब) विरुद्ध हेरेफोर्डशायरमा दोस्रो एकदिवसीय खेल्नेछ । 

मे २२ मा नेपालले एकै दिन ग्लोसेस्टरशायर विरुद्ध दुई टी–२० खेल खेल्नेछ । त्यसपछि मे २६ तारिखमा ग्लामोर्गन विरुद्ध ग्लामोर्गनमै एकदिवसीय खेल खेल्ने नेपालको तयारी छ । तीन एकदिवसीय र दुई दुई टि–ट्वान्टी खेल खेलेर नेपाल स्कटल्याण्ड जानेछ । 

आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले मे २९ र ३१ तारिखमा स्कटल्यान्डको ‘ए’ टिमसँग दुई एकदिवसीय खेल खेल्नेछ ।

लिग–२० र टि–२० शृङ्खलाको तयारी 

गत वर्ष पुसमा सम्पन्न नेपाल प्रिमियर लिग एनपीएल पश्चात् नेपाली क्रिकेट टोली अन्तराष्ट्रिय खेलमा व्यस्त बन्न सकेको छैन । घरेलु क्रिकेट गतिविधिमै भुलेको छ ।  यतिबेला नेपाली टोलीको नजर आगामी जुन महिनामा स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक टी–२० आई शृंखलामा रहेको छ । 

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ । तीन टोलीले सुरुमा लिग–टु सिरिज र त्यसपछि टि–२० सिरिज खेल्नेछन् । 

लि–२ सिरिजमा नेपालले जुन २ र ८ मा स्कटल्याण्ड तथा जुन ४ र १० मा नेदरल्याण्ड्ससंग प्रतिष्पर्धा गर्र्नेछ । लिग–टु मा नेपालले सोचअनुरुसार प्रदर्शन गर्न सकिरहेको छैन । अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले १२ खेल खेल्दासम्म आठमा हार, दुईमा जित र दुई खेलमा अंक बाँडेको छ । नेपालले अब २४ वटा खेल खेल्न बाँकी छ । 

१६ अ‍ेल खेलेको अमेरिका २२ अंक सहित शिर्ष स्थानमा छ भने ११ खेल खेलको युएई चार अंक सहित पुछारमा छ । लिग–टु सिरिज सकिएपछि टी–२० आई सिरिज सुरु हुनेछ । 

जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुने सिरिजलाई जुलाईमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीको स्वरुप लिइएको छ । 

टी–२० आईमा सिरिजमा नेपालले जुन १६ र १८ मा नेदरल्याण्ड्ससँग खेल्दा जुन १७ र २० मा स्कटल्याण्डसँग खेल्नेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update