News 24 Television
पूर्व अर्थमन्त्री पुनको प्रश्न : ट्यारिफ वारले निम्त्याउने संकटबारे नीति तथा कार्यक्रममा खै ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले ट्यारिफ वारले विश्वव्यापी आर्थिक संकट आउने खतरा बढेको बताएका छन् । प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले भन्सार व्यापारसम्बन्धी युद्धले खतरा बढेको बताए । उनले पश्चिमा विश्व नै उदारीकरण/नवउदारीकरण संरक्षणवादतर्फ केन्द्रित हुँदा नेपाल सरकार भने पछि फर्कन खोजेको आरोप लगाए । उनले पश्चिमा विश्व आफ्नो बजार संरक्षणतर्फ गइरहेको समेत जिकिर गरे ।

पुनले ट्यारिफ वारले निम्त्याउनसक्ने समस्याको समाधान कसरी गर्ने भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको धारणा राखे । उनले सरकारलाई थप जिम्मेवार र प्रतिबद्ध बन्न समेत सुझाव दिए ।

उनले भने, ‘सरकार पछि फर्कन खोजेको छ । पश्चिमा विश्व नै उदारीकरण÷नवउदारीकरण संरक्षणवादतिर, आफ्नो बजार संरक्षणतर्फ गइरहेको बेला आर्थिक संकट विश्वव्यापी आउने खतरा छ यो ट्यारिफ वारले । यो भन्सार व्यापारसम्बन्धी युद्धले खतराहरू छन् । त्यो कसरी हामी सामना गर्न सक्छौँ, त्यो नीति तथा कार्यक्रम यसमा देखिएको छैन । सरकार त्यसतर्फ जिम्मेवार र प्रतिवद्ध बनोस् ।’ 

पुनले नीति तथा कार्यक्रम अध्ययन गर्दा सरकार केही कुरामा अल्मलिन र पछाडि फर्कन खोजेको हाे कि भन्ने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update