News 24 Television
भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै

काठमाडौँ । पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमवार वार्ता हुँदैछ । सोमवार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको थियो । तर समय केही परिवर्तन गरी आज साँझ वार्ता हुने भएको छ ।

वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् । यसअघि शनिवार भएको कुराकानीमा पाकिस्तानी सेन्य महानिर्देशकले शत्रुता बन्द गर्ने प्रश्ताव अघि सारेका थिए । यसपछि दुवै देशले शनिवार साँझदेखि सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए । तर उक्त सहमति गरेको केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखा (एलओसी) मा गोलीबारी तथा हवाई घुसपैठ गरेको भारतको आरोप छ । 

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले आईतवार संयुक्त पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको छ । यदि यस्ता गतिविधि दोहोरिए भने अझ कडा कारबाही हुनेछ ।’  

सम्झौता उल्लङ्घनबारे पाकिस्तानी सेनालाई हटलाइन सन्देशमार्फत जानकारी गराइएको उनको भनाइ छ । भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप मे ७ देखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो । उक्त अपरेशन अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रहरूमा प्रहार गरिएको थियो । आक्रमणमा परि २६ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update