
काठमाडौं । नेपालको उत्तरी भागमा सर्वोच्च शिखर सगरमाथासहित विश्वका दस अग्ला हिमालमध्ये ८ वटा छन् । यि हिमालको काखमा ठूलो संख्यामा हिमनदी र हिमतालहरू छन् । तर, जलवायु परिवर्तनका कारण अहिले हिमाल र हिमनदीमात्रै होइन हिमाली बस्ती समेत जोखिमको उच्चभारले थिचिएको छ । तर, के नेपालले हिमाल र हिमाली बस्तीको न्यायका लागि प्रभावकारी कदम चाल्न सकेको छ त ? के सरकारले आयोजना गरेको सगरमाथा संवादले अपेक्षाअनुसारको प्रतिफल दियो त ?
जलवायुपरिवर्तनको प्रभावले हिमाल र हिमाली बस्तीलाई बचाउँनु चुनौतिपूर्ण बनिरहेको छ । यस्तो अवस्थामा दीर्घकालीन योजना र वित्तीय पहुँच एवम् राहतमा पहुँच महत्वपूर्ण पक्ष हुन् ।
जलवायु परिवर्तनले नेपालका हिमालहरुमा पारिरहेको प्रभाव र हिमाली बस्तीमाथिको जोखिमका लागि सरकारले प्रभावकारी कदम चाल्न सकेको छ त ? के विश्वसमुदायले जलवायु परिवर्तनका सन्र्दभमा नेपाललाई न्याय गर्ने गरि सहजता प्रदान गरेका छन् त ? यो अहम सवाल बनिरहेको ।
यस अवस्थाका बीच नेपालले सगरमाथा संवाद नै चलायो । तीन दिनसम्म चलेको यस संवादले विश्वसमुदायको ध्यान नेपालतर्फ खिच्न सक्यो त ? यो समेत समीक्षाको विषय बनिरहेको छ । सगरमाथा संवादमा के भयो र के हुनुपर्दथ्यो ? यसबारे चर्चा पहिले नेपालका हिमशिखर र तापमानको अवस्थाबारे बुझनु आवश्यक छ ।
कस्तो छ नेपालका हिमशिखर र तापमानको अवस्था ?
- नेपालको उत्तरी भागमा सर्वोच्च शिखर सगरमाथासहित विश्वका १० अग्ला हिमालमध्ये ८ वटा छन् ।
- यि हिमालको काखमा ठूलो संख्यामा हिमनदी र हिमतालहरू छन् ।
- हिमनदी र हिमतालहरू नेपालका ठूला बाह्रमासी नदी र भारतको गंगा नदीको बहावका मुख्य स्रोत हुन् ।
- तर, हिमालमा हुने जलवायु परिवर्तनले क्षेत्रीय जलस्रोतको उपलब्धता र सन्तुलनमा ठूलो असर गर्ने देखिएको छ ।
- विभिन्न नदी बेसिनहरूमा स्थापित ४९ वटा मापन केन्द्रहरूको तथ्यांक विश्लेषण गर्दा सन् १९७० देखि प्रतिवर्ष अधिकतम तापक्रम वृद्धि ०.०४ डिग्री सेल्सियसले स्थिर देखिन्छ ।
- यो तापक्रम वृद्धिको असर हिमाली र पहाडी क्षेत्रमा बढी महसुस हुँदा महाभारत र तराई क्षेत्रमा न्यून देखिएको छ ।
- तापक्रमको यो वृद्धिले नेपालका हिमाली क्षेत्रका साथै तिब्बत र समग्र हिन्दकुश हिमालय क्षेत्र प्रभावित भएको छ ।
- हिमालहरु कालापत्थरमा परिणात भइरहेका छन्, ग्लासिएरहरु पग्लिरहेका छन् ।
जलवायु परिवर्तनले नेपाललाई उच्च जोखिममा पु¥याएको भएपनि सरकारले विश्वमञ्चमा प्रभावकारी आवाज उठाउन सकेको छैन । प्रयास नै नगरिएका होइनन् तर, नेपाललाई विश्वसमुदायले जलवायु परिवर्तनले पार्ने प्रभाव र क्षतिका सम्बन्धमा न्याय दिएको छैन ।
विश्वलाई नेपालका हिमालहरुको विग्रदो दशा देखाउन, हिमाली बस्तीमाथिको जोखिम देखाउन र समस्या कतिसम्म जटिल छ भन्ने महसुस गराउन सरकारले सगरमाथा संवाद नाम दिई विमर्श एवम् छलफल त ग¥यो तर, छिमेकी मुलुकका सरकारले नै यसलाई प्राथमिकताका साथ लिएनन् ।
जलवायु परिवर्तनमा नेपालको योगदान शुन्यप्राय छ तर, चपेटामा नेपाल नै छ । तरपनि विकसित एवम् औद्योगिक क्षेत्रमा उछाल ल्याएका भनिने देशहरुले हिमश्रङखलाले भरिपूर्ण नेपालले थालेको कदमलाई प्राथमिकता नदिनु साँचै अन्यायपूर्ण व्यवहार नै हो ।
के छ सगरमाथा संवादले जारी गरेको घोषणापत्रमा ?
काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे “सगरमाथा कल फर एक्शन“ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
- घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरु एकमत भएका छन् ।
- सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ ।
- जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरुले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ ।
- साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै राष्ट्रहरुले आफ्ना जलवायु योजना सशक्त बनाउनुपर्ने कुरामा घोषणापत्रले जोड दिएको छ ।
- हरित अर्थतन्त्र बनाउन सबैको प्रयास जरुरी रहेको र पर्वतसम्बन्धी छलफलहरु थप बिस्तार गर्दै लगिने कुरामा जोड दिइएको छ ।
- विपद् पूर्वसूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ ।
- जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धिजस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रश्ताव पनि घोषणापत्रमा गरिएको छ ।
हिमाली समुदायको आवाज विश्व मञ्चमा पु¥याउने प्रतिबद्धता
हिमाली क्षेत्रमा बसोवास गरिरहेका समुदायहरूले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव व्यहोरिरहेका छन् । यसलाई सम्बोधन गर्न जलवायु न्याय, स्थानीय, आदिवासी, महिला, युवा, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता, र पर्यावरणीय सेवाहरूको भुक्तानी संयन्त्र विकासमा जोड दिइएको छ ।
सगरमाथा संवादमा विशेष रुपमा हिमाल केन्द्रित बहु–सरोकारवाला अन्तर्राष्ट्रिय मञ्च र ज्ञान केन्द्रहरू स्थापना गरी हिमाली समुदायको आवाज विश्व मञ्चमा पु¥याउने प्रतिवद्धता जनाइएको छ ।
सगरमाथा संवादले स्थायी रुपमा हिमालदेखि समुन्द्रसम्म जलवायु परिवर्तनको साझा चुनौती वकालत गर्न, सम्बोधन गर्न दबाब दिन र विश्वव्यापी संवादलाई निरन्तर अगाडी बढाउने लक्ष्य राखिको छ ।
जलवायु परिवर्तन र नेपालको हिमाली क्षेत्रबारे सरोकारवालाहरुको भनाई कस्तो छ त ? सरोकारवालाहरुले हिमालय जीवनलाई संकटउन्मुख भनि खतरा औल्याँउदै आएपनि विश्वसमुदायले गम्भिरताका साथ लिई नेपालका हिमालहरु जोगाउनेतर्फ खास ध्यान दिएको छैन ।
जलवायु परिवर्तन यस्तो खराब अवस्थामा पु¥याउने काममा नेपालको कुनै दोष छैन । विकसित देशहरुले उत्सर्जन गरेका प्रकृतिलाई आघात पु¥याउने ग्याँस यस अवस्थाका प्रमुख कारक हुन् । त्यसैले शक्ति राष्ट्रसँगै विश्वसमुदायले नै एक साथ जलवायु परिवर्तन न्यूनिकरणमा कदम चाल्नै पर्ने देखिन्छ ।