News 24 Television
निहत्था नागरिकमाथि निरन्तर बम वर्षा 

काठमाडौं । इजरायलले प्यालेस्टिनी भूमी गाजा क्षेत्रमा गरिरहेको बमबारीमा परी ज्यान गुमानेहरु हजारौं पुगिरहेका छन् । पछिल्ला दिनमा इजरायलले गाजाका स्कुल, मस्जिद र शरणार्थी शिविरलाई केन्द्र बनाएर आक्रमण गरिरहेको छ भने त्यसमा सर्वसाधारण, महिला, बालबालिका हताहतीमा परिरहेका छन् । 

यस्तै, इजरायलले मानवीय सहायता सामाग्री बोकेका सवारी समेत रोकेपछि बेलायतदेखि ठूला राष्ट्रले चेतावनी दिन थालेका छन् । 

इजरेलले गाजामा हवाई हमलालाई निरन्तरता दिँदै मानव नरसंहार मच्चाउन थालेपछि बेलायत, फ्रान्स र क्यानडाले इजरेलविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् । ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै इजरेललाई आफ्नो शैली परिवर्तन गर्न आग्रह गरेका छन् । 

अन्यथा इजरेलविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन् । ’इजरेलले फेरि थालेको सैन्य आक्रमण रोकेन र मानवीय सहयोग सामग्रीमाथिका प्रतिबन्ध हटाएन भने हामी जवाफमा ठोस कदम चाल्ने छौँ,’ उनीहरुले भनेका छन् । 

प्यालेस्टिनीहरु तीब्र भोकमरी, पिउने पानीको अभाव, ऊर्जादेखि विभिन्नखाले संकटसंग जुधिरहेका छन् भने इजरायलले मानवीय सहायता समेत रोकेको छ । संयुक्त राष्ट्रसंघको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) अनुसार, गाजामा ९३ प्रतिशतभन्दा बढी झण्डै ९ लाख ३० हजार  बालबालिका जारी युद्ध र नाकाबन्दीका कारण अनिकालको जोखिममा छन् । 

यतिमात्रै नभई इजरायलले गरिरहेको बमबारीका कारण प्यालेस्टिनीहरुको भागाभाग समेत चलिरहेको अलजजिरा लगायतका अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

इजरायली कारबाहीको क्रममा हवाई र तोपखानाको श्रृंखलाबद्ध आक्रमण तीब्र बनिरहेको खान युनिसको नासेर अस्पतालका चिकित्सा अधिकारीहरूले बताएका छन् । इजरायली युद्धविमान र हेलिकप्टरहरूले अल–कारारा, अल–फुखारी र बानी सुहेला क्षेत्रहरू, साथै अल–अक्सा विश्वविद्यालय र स्ट्रीट ५ वरपरका धेरै स्थानहरूलाई लक्षित गर्दै इजरायलले दर्जनौं आक्रमणहरु गरिरहेको छ ।
इजरायलले १९ महिनाभन्दा बढी समयदेखि गाजामा सैन्य अपरेशनहरू गर्दै आएको छ । 

प्यालेस्टिनी गुटहरूसँग सम्बन्धित साइटहरूलाई लक्षित गर्न विशेष एकाइहरू र गुप्तचर उपायहरू प्रयोग गर्दै आएको छ । 

लामो समयदेखि जारी इजरायली आक्रमणले गाजामा हालसम्म ५३ हजार ४ सय ७५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । १ लाख २१ हजार ३ सय ९८ जना घाइते भएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update