News 24 Television
पोखरामा प्रधानमन्त्री एनभीए भलिबल प्रतियोगिताको तयारी पुरा, १४ टिम भिड्दै  

कास्की । नेपालकै प्रतिष्ठित भलिबल प्रतियोगिता ‘प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग’ पहिलो पटक काठमाडौं बाहिर पोखरामा आयोजना हुने भएको छ । 

नेपाल भलिबल संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने जानकारी दिएको छ ।


नेपालकै प्रतिष्ठित भलिबल प्रतियोगिता ’प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग’ पोखरामा हुने भएको छ । नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने गरी तयारी गरिएको जानकारी दिएको छ । 

काठमाडौंको कभर्ड हल स्तरोन्नतीको अवस्था रहेको र पोखरामा भलिबल प्रेमीहरू धेरै रहेका कारणले पनि पहिलो पटक एनभिए लिग काठमाडौं बाहिर गर्ने लागिएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको भनाइ छ । 

लिगमा पुरुषतर्फ आठ टिम र महिलातर्फ छ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । 

लिगको अनुमानित बजेट ९० लाख रुपियाँ रहेको पनि भलिबल संघले जनाएको छ । लिगको दुवैतर्फ विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङले जानकारी दिए ।

लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आइरहेका छन् । 

यसअघि पोखराको इन्डोर हलमा बैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक प्रथम लायन्स कप भलिबल प्रतियोगिता भएको थियो । यसपटकको पीएम एनभिए कपले पनि पोखरालाई भलिबलको केन्द्र बनाउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update