काठमाडौं । सर्वोच्च अदालतले पत्रकार सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहाको आदेश दिएको हो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा पत्रकार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध गएको शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।
पत्रकार केसी पक्राउ विरुद्ध नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार मञ्च, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले निरन्तर खबरदारी गरेका थिए । पत्रकारका संघ संस्थाहरुले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा लिएका छन् ।