News 24 Television
आलुमा आत्मनिर्भर बन्दै डडेलधुरा

डडेल्धुरा । डडेल्धुरा जिल्ला आलुमा आत्मनिर्भर जिल्लाका रुपमा विकास हुदै गएको छ । यहाँका हरेक गाउँमा व्यवसायिक रुपमा आलुखेती हुने गरेको छ । उत्पादन र भण्डारणका लागि समेत सहज हुने भएपछि डडेल्धुरामा आलुखेती तर्फको आकर्षण बढ्दै गएको हो । 

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. २ को सुतारीगाउँका किसानहरु व्यवसायिक रुपमा आलुखेती गरिरहेका छन् । केही वर्षअगाडि बाँझो रहने गरेको यहाँको जमिनमा अहिले आलुखेती गर्न थालिएको छ । पुरुषहरु कामका लागि विदेशिने र महिलाहरु चुलो चौकोमै सिमित रहने परिपाटीको अन्त्य गर्दै यहाँका किसानहरु व्यवसायिक रुपमा आलु खेतीमा लागेका हुन् । 

गाउँमा गठन गरिएको “सृजनसिल बहुउद्देश्यीय कृषि उपज संकलन केन्द्र तथा कृषक समुह” मार्फत अहिले दोस्रो सिजनमा आलु खेती गरिरहेको यहाँका किसान बताउछन् । समूहले सहकार्यमा मल, बीउ, औजार व्यवस्थापन तथा उत्पादनको बजार व्यवस्थापनसमेत गर्दै आएको छ । गाउँमा सबैजना आलुखेती गरिरहेका छन् ।  

आलु सुपरजोन कार्यक्रमअन्तर्गत खेतको चारैतिर जंगली जनावरबाट जोगाउन सुरक्षात्मक घेराबार, सिँचाइका लागि पोखरी निर्माण, खनजोतका लागि दुईवटा मिनी ट्रेलर र कृषकलाई तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराले जनाएको छ । यस गाउँलाई कृषि पर्यटनका रुपमा अगाडि बढाउन सकिने गरि काम भइरहेको छ । 

यहाँका किसानहरुमा आलु खेतीमा आधुनिक कृषि प्रविधि सम्बन्धी ज्ञान बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । किसानहरुका लागि आलुको विउसहित भौतिक संरचना निर्माणका लागि कृषि ज्ञानकेन्द्रले सहयोग गर्दै आएको छ । 

डडेल्धुराका आलु उत्पादक किसानलाई स्थानीय सरकार तथा विभिन्न सरकारी निकायबाट भइरहेको निरन्तरको सहयोगले किसानमा आलु खेती तर्फको आकर्षण अझै बढाउदै लगेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update