News 24 Television
नयाँ गभर्नरको पहिलो समीक्षामा के के भयो परिवर्तन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको समीक्षा गरेका छन् । उनले  मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर धिताे कर्जाकाे जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्ने निर्णय गरेका छन् ।

पौडेल नेतृत्वको केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै आइतबार सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो । 

अघिल्ला गभर्नर महाप्रसादा अधिकारीले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएका थिए ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण लचिलो र सजगतापूर्ण सन्तुलित हुने उल्लेख गरेको छ ।

मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गरेको केन्द्रीय बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान रहेको जनाएको छ ।

समग्र मागमा सुधार आएको केन्द्रीय बैंकको विश्लेषण छ । जसले अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको उल्लेख गरेको छ । ‘मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको छ ।

तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सकेमा मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुन्छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update