
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् ।
उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ, त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । उनले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी समेत गरे ।
उनले भने, ‘जुन ट्रेण्डमा विश्व गइरहेको छ । विश्वको अर्थतन्त्र गइरहेको छ । त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दापनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन ? भन्ने ठाउँमा मात्र पुगेको महशुस गरिरहेको छ । जुन सबभन्दा बढी गर्नुपर्ने कुरा हो यो । अहिले यहाँ कुरापनि उठ्यो आज हाम्रा साना, मझौला, माइक्रो त्यसको राइट मानिसहरुको हातमा गइरहेको छैन । एकातिर क्यापिटल प्mलो नहुने जति भइरहेको छ जाम भएर बसेको छ । १० वर्षको दौरानमा नयाँ उद्यमीहरु जन्मुन् भनेर सरकारले धेरै योजनाहरु ल्याएको छ तर त्यो कुनैपनि सफल भएन । योजना आयोगदेखि प्रधानमन्त्रीको कार्यालयसम्म अफिसहरु बसे । नेपाल राष्ट्र बैंकले एकपटक १० लाखदेखि ३० लाखसम्मको पुँजी दिएर नयाँ उद्यमी जन्माउने योजना ल्यायो । तर, त्यो पनि सजिलो बाटो खोजिनाले सफल हुन सकेन । बैक भनेको त अर्थतन्त्रको इन्जिन हो । बैंकको काम भनेकै के गर्यो भने अर्थतन्त्र चलायमान हुन्छ । आज यस्ता बैंकहरुपनि छन् जुन बैंकमा राम्रो स्वामित्व भएका मानिसहरु बोर्डमै बस्दैनन् । प्रोफेसनल मानिसहरु राखेर चलाइरहेका छन् र ती बैंकहरु अब्बल ढंगले चलिरहेका छन् । तर जुन बैंकमा कुनै निजी क्षेत्रका व्यापारीको पूँजी छैन तर सबैभन्दा भ्रष्ट बैंकहरु पनि तिनै छन् । आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरुको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ ।’
उनले विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनै पनि योजना सफल हुन नसकेको बताए ।