
कास्की । राष्ट्रिय युवा सङ्घको सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबेसहित नयाँ नेतृत्व चयन भएपछि पोखरामा पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा निर्वाचित अध्यक्ष थेबेले आगामी कार्यदिशा, योजनासहित अबको तीन वर्षमा ३ लाख युवालाई उद्यमी बनाएर ३० लाख रोजगारी निर्माण गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय युवा सङ्घको १०औं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट क्षितिज थेवेको नेतृत्वको टीम निर्वाचित भएसँगै बुधबार पोखरामा पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा निर्वाचित अध्यक्ष थेबेले आगामी कार्यदिशा, योजना सार्वजनिक गरे । उनले अबको तीन वर्षमा ३ लाख युवालाई उद्यमी बनाएर ३० लाख रोजगारी निर्माण गर्ने घोषणा समेत गरेका छन् ।
नेकपा एमाले निकट रहेको राष्ट्रिय युवा संघमा थेबे दोस्रो पटक अध्यक्ष बनेका हुन् । अध्यक्षमा प्रतिस्पर्धी सुमन पुरीलाई एक सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा विजयी भएका थिए ।
नयाँ नेतृत्वसहित राष्ट्रिय युवा सङ्घ नेपाल अब संगठन विस्तार र नीति कार्यक्रम कार्यान्वयनमा केन्द्रीत हुने समेत अध्यक्ष थेबेले बताए । साथै आजको युवा पुस्तक समस्यालाई मात्र होइन भोली आउने युवा पुस्तालाई समेत हुनेगरी कार्यक्रम ल्याइने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा नेपालको राजनीतिक अवस्थाको बारेमा बोल्दै एमाले नेता महेश बस्नेतले नेपालमा स्टन्टबाज मौलाउँदै गएको र यसलाई रोक्नु पर्ने बताए ।
निर्वाचनमा देशभरबाट पोखरा आएका १ हजार ७६५ प्रतिनिधिमध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए । नयाँ नेतृत्वको चयनसँगै राष्ट्रिय युवा सङ्घले घोषणामा उल्लेख गरेअनुसार यदि तीन वर्षभित्र ३ लाख युवा उद्यमी बन्न र ३० लाख रोजगारी सिर्जना गर्न सक्ने हो भने, त्यो नेपाली युवासमाजका लागि परिवर्तनकारी युग हुने विश्वास गरिएको छ ।