News 24 Television
बागमतीले ल्यायो नीति तथा कार्यक्रम, प्रतिपक्षी असन्तुष्ट

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रमप्रति सांसदहरुले भने असन्तुष्टि जनाएका छन् । 

बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक सय १६ वटा बुँदामा समेटिएको नीति तथा कार्यक्रम बाचन गरेर सदनलाई सुनाए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका सबै क्षेत्रको कार्यगत नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मासाथ गरिने उल्लेख छ । 

संविधानप्रदत्त तथा कार्यविस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिँदै साझा अधिकारको कार्यान्वयनमा समन्वय र सहकार्य गरिने  नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसरी ३० पृष्ठमा अटाइएको ११६ बुँदाको नीति तथा कार्यक्रम ल्याइए पनि प्रदेशको हित हुने खालका कुनै योजना नबनाइएको विपक्षी दलहरुको गुनासो रहेको छ । नीति तथा कार्यक्रमको शीर्षक फेरिएको तर काम पुरानै भएको भन्दै विपक्षी दलहरुले असन्तुष्टी जनाएका हुन् । 

आफ्नो दल सरकारमा हुँदा सुरु गरेका केही राम्रा योजनाहरु राखेको र अन्य नयाँ योजना बनाउन सरकारमा रहेका दल असफल भएको प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्मकट्टेलको टिप्पणी छ । 

सरकारले ल्याएको यो नीति तथा कार्यक्रमले प्रदेशवासीलाई उत्साह दिने खालको कुनै शीर्षक नै उल्लेख नभएको प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलको आरोप छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update