News 24 Television
बजेटबारे पूर्वअर्थमन्त्री– ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सीमित’

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए । आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको जिकिर गरे ।

पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए ।उनले गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताए । उनले गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको बताए ।

उनले भने, “गत वर्षको बजेटमा हामी अर्थतन्त्रका ५ क्षेत्र भनेका थियौ । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको थियो, त्यसबारे केही बोलेको छैन । गत वर्ष गण्डकी आर्थिक त्रिभुज लगायतका अर्थतन्त्रका केन्द्रका चर्चा थियो, यस वर्ष त्यस्ता पनि छैनन् । गत वर्ष स्टार्टअप लगायतका खास गरी आइसिटी क्षेत्रलाई विशेष फोकस गरिएको थियो, अहिले त्यो पनि छरिएर रहेको छ । आशा जगाउने ढङ्गले, अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले भन्दा पनि जस्तो छ, जस्तो छ नियमित रूपमा गरौँ भन्ने खालको नियमित बजेटको रूपमा आएको छ ।”   

पुनले सरकारले विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको भन्दै प्रशंसा गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update