News 24 Television
बजेटबारे निजी क्षेत्र : अधिकांश सुझाव समेटिएका छन्, समग्रमा बजेट राम्रो छ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताएका हुन् । उनले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने महशुस गरेको स्पष्ट पारे । साथै बजेटले वैदेशिक लगानी प्रवर्द्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भन्दै यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास लिएको अध्यक्ष ढकालले बताए ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै कुरा राम्रो भए पनि राजश्व मुख्य चुनौती हुनसक्ने बताए । पूर्वअध्यक्ष मल्लले समग्रमा बजेट राम्रो आएको बताए । उनले बजेटले युवा पुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रुपमा लिएको बताए । उनले कार्यक्रमहरु सबै राम्रा आएका तर बाँकी कुरा आर्थिक ऐन आएपछि थाहा हुने बताए । राजश्व उठाउने विषयमा कर्मचारीहरुले राम्रो नियतले काम गरिदिए अन्य कुराहरुलाई बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालको भनाई थियो । निजी क्षेत्रका मागहरुलाई अर्थमन्त्रीले सकारात्मक रुपमा लिएर बजेटमा समावेश गरिदिनुभएको बताए ।

बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीहरुले बजेट समग्रमा आशालाग्दो भएको र बाँकी कुरा आर्थिक ऐन आएपछि मात्र प्रतिक्रिया दिन सकिने बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update