News 24 Television
नेपालको आर्थिक वृद्धिदर ४.६१ ! कस्तो देखियो समग्र अर्थतन्त्र ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । प्रदेशगत रूपमा मधेश प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । मुलुकको अर्थतन्त्रसँग सम्बन्धित अन्य पक्षहरुको अवस्था कस्तो छ त ? 

सरकारले प्रस्तुत गरेको आ.व. २०८१\८२ को आर्थिक सर्वेक्षण अनुसार मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । 

अर्थतन्त्रका अन्य पक्ष कस्ता रहने छन् त ?

-  सरकारले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु. ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ । 

-   यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत 

-   उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । 

-  प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५ सय १७ अमेरिकी डलर पुगेको छ ।

औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।  

-  चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजश्व १२.६ प्रतिशतले बढेको छ ।
 
-   वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको सरकारले जनाएको छ । 

-   यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा रु.१६ अर्ब १९ करोड रहेको छ । 

-   गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । 

-  २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विवरण अनुसार वित्तीय पहुँच बढेको छ । सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ । बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औषत २ हजार ५ सय २७ जनसंख्यामा बैंकिङ्ग सेवा उपलब्ध भएको छ । 

२०८१ फागुनमसान्तमा बैंङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ । जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको छ ।

वस्तु निकासी र रेमिट्यान्स लगाएतको अवस्था कस्तो छ ?

-   आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ । 

-   विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर रु. १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । 
-   चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । 

-    विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ । 

-  हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । 

-  वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । कुल जडित विद्युत क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ । 

-  सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ । 

-   इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२.० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ । 

-   मानव विकास सूचकाङ्क बढेर ०.६२२ पुगेको छ । 

-  शैक्षिक सत्र २०८१ मा आधारभुत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ ।
 
-  चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धि रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

-   यस अवधिसम्म ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको सरकारले बताएको छ । 
-    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update