
काठमाडौं । सरकारले आर्थिक बर्ष २०८२\८३ को लागि प्रस्तुत गरेको बजेटलाई केही पूर्व अर्थमन्त्रीहरुले बलियो सरकारले कमजोर बजेट ल्याएको टिप्पणी गरेका छन् । दुई तिहाईको सरकारसंग जति शक्ति र बल भएपनि त्यसको प्रतिविम्व बजेटमा नदेखिएको पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रिया छ । सरकारले लिएको लक्ष्य हासिल गर्न पर्याप्त स्रोत साधनको अभाव हुदाँ बजेट कार्यान्वयनमा उनीहरुले आशंका गरेका हुन् ।
पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले दुई तिहाई सरकारले किन कमजोर बजेट ल्याएको भनेर प्रश्न गरेका छन् । नेपाल व्यवस्थापन संघले बजेटको बिषयमा पूर्वअर्थमन्त्रीहरुसंग गरेको छलफल कार्यक्रममा पूर्व मन्त्री पुनले बजेटमा सरकार कमजोर देखिएको टिप्पणी गरेका हुन् ।
तर अर्का पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बजेटको बचाउँ गरेपनि बजेटले लिएको लक्ष्यको लागि स्रोत साधनको चुनौती रहेको बताए ।
सरकारले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन भन्दै सातै प्रदेशका प्रमुख सहरी केन्द्रमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्तामा उपलव्ध गराउने भनेको छ । यो कार्यक्रम अघि बढेमा सरकारसँग आम्दानीको स्रोत बढ्न सक्ने पाण्डेको भनाई छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत र ज्ञानेन्द्र कार्कीले बजेटमा राजनीतिक इमान्दारिता रहेको उल्लेख गदै बजेटले नितिगत स्थायित्व खोजेको र अनुशासनमा रहेर बजेट आएको बताए ।
पूर्व अर्थमन्त्री डा. रुप ज्योतिले बजेटमा भ्याटको लक्ष्य र असूली प्रभावकारी हुन नसकेकोले सरकारले राजश्व संकलन र आम्दानी सोचे अनुसार गर्न नसक्ने टिप्पणी गरे ।।
त्यसैगरी बजेटले लिएको लक्ष्य पुरा गर्न सरकारले हरेक बर्ष कर र राजश्वलाई प्रभावकारी बनाउन नसकेको र विदेशी तथा आन्तरिक ऋणमा बढी निर्भर हुने अवस्थालाई वरिष्ठ अर्थविदहरुले चिन्ताजनक भनेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा राजनीतिक इच्छा शक्ति देखाए पनि गठबन्धनको सरकारले बजेटमा उल्लेख गरिएको कार्यक्रम र योजनाको कार्यान्वयनको पक्षलाई कसरी ब्यवहारमा उर्तान सक्छ भन्ने अवस्थालाई पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रीहरुले बजेट सञ्चालन र यसको जिम्मेवारीमा रहेकाहरुप्रति गम्भीर रुपमा हेरेका छन् ।