
मकवानपुर । पहिले–पहिले कृषि पेशा प्रायः युवाको रोजाइमा खास पर्दैनथ्यो । पुख्र्यौली पेशाको रुपमा केहीले मात्रै यसलाई अगाल्दै आएको पाइन्थ्यो । तर पछिल्लो समय कृषि तथा पशुपालन युवाहरुको रोजाइको काम बन्दै गएको छ । देश विदेशमा विभिन्न काम गरेर थाकेपछि फर्कने थलो बनेको छ कृषि क्षेत्र ।
यो बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्र नजिकै रहेको बाख्रा फार्म हो । यहाँ एउटै खोरमा १ हजार बढी खसी, बोका र बाख्राहरु छन् । निजी लगानीमा गरिएको बाख्रा पालन व्यवसायले यतिबेला मकवानपुरमा मात्रै होइन, सिंगो देशमै चर्चा कमाइरहेको छ ।
हेटौंडाको यो फार्म देशकै उत्कृष्ट र ठुलो फार्म भएको यस फार्म सञ्चालकहरुको दाबी छ । हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा रहको यस सिमलथली एग्रो प्रालिमा १ हजार भन्दा बढी विभिन्न जातका बोका, खसी र बाख्राहरु छन् ।
५ जना युवाहरु मिलेर ब्यवसायिक रुपमा बाख्रा फार्म सञ्चालन गर्दै आएका यो फार्म नेपालकै उत्कृष्ट, व्यवस्थित र ठुलो फार्म हो ।
फार्मले बेला–बेलामा सेयर खुलाउने गरेको छ । सोही समयमा सेयर किनेर फार्म सञ्चालक बनेकाहरु पनि सोही फार्ममा काम गर्छन् । जसले सेयर लगानी सुरक्षित त बनाएकै छ । त्यस बाहेक पनि काम गरे वापतको तलब सुविधा समेत बुझने गरेका छन् ।
त्यसोत, यो फार्मले आफ्नो फाइदाको लागि मात्रै काम गरेको छैन । व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान दिदैँ आएको छ । किसानहरुको समुह बनाएर तालिमसँगै उन्नत जातका पाठापाठी वितरण समेत गरिँदै आएको बताइएको छ ।
संस्थाको नाममा रहेको ४५ कठ्ठा जग्गामा आधुनिक शैलीको खोर सहित विभिन्न संरचना निर्माण गरिएको छ । यसरी सुरु गरिएको बाख्रा फार्म १० बर्षको अवधिमा देशकै नमुना फार्म बन्न सफल भएको हो । हाल सो फार्ममा उन्नत जातका बोयर, सान्नानी लगाएत जातका बोका बाख्राहरु छन् । यसरी व्यवसायीक रुपमा नै बाख्रापालनमा जुटेका यी र यस्ता किसानलाई टिकाउनका लागि सरकारले व्यवसायीक किसान बनाउनुपर्ने फार्मका संस्थापक सञ्चालक गोविन्द सुवेदी बताउँछन् ।
यता, हेटौंडाको यो फार्म देशकै उत्कृष्ट र नमुना बाख्रा फार्म भएको हेटौंडा उपमहानगरपालिकाको दाबी छ । यो फार्मलाई अघिल्ला बर्षहरुमा पनि विभिन्न तवरले सहयोग गर्दै आइएको र अबका दिनहरुमा पनि यस्ता किसानहरुलाई टिकाउन नगरपालिकाले योजना बनाइरहेको हेटौंडा उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा बताउँछन् ।
रहर लाग्नेगरी बोयरजातका बाख्रा पालनको अवलोकन गर्न बिभिन्न जिल्लाका कृषकहरु यस फार्ममा आउने गरेका छन् । यहाँ हाल ४ महिला सहित १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।