News 24 Television
ट्रम्पको नीतिले मस्क भिडन्तमा, विश्व प्रविधि नै प्रभावित हुँदै

काठमाडौं । अमेरिकाका शक्तिशाली राष्ट्रपति र विश्वका सर्वाधिक धनी उद्यमी आमने–सामने उभिएका छन् । एक समय एक अर्काका समर्थकका रूपमा देखिएका डोनाल्ड ट्रम्प र एलोन मस्क अब सार्वजनिक रुपमा कटु आलोचनादेखि धम्की र व्यावसायिक प्रतिशोधसम्म पुगेका छन् । यो भिडन्तले केवल अमेरिकी भविष्यको रेखांकन मात्रै होइन, विश्वकै प्रविधि र सत्ता सन्तुलनमा गहिरो असर पार्ने संकेत दिँदैछ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्कबीचको सम्बन्धमा मित्रताको मिठास भन्दा दुश्मनीको तीतोपन बढी छ । केही समयअघि सम्म एक–अर्काको प्रशंसक झैं देखिएका यी दुई पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा कटु आलोचना, गालीगलौज र धम्कीमा उत्रेका छन् । 

सन् २०२४ को राष्ट्रपतीय चुनावताका सुरु भएको मित्रता अहिले चरम आरोप–प्रत्यारोप, नीतिगत असहमतिहरू र व्यक्तिगत आक्षेपमा परिणत भएको छ । शक्ति, अहंकार र प्रभावको यो द्वन्द्व केवल दुई व्यक्तिको टकराव होइन संसारभर चासोको विषय बनेको छ ।

सहयोगबाट शुरु भएको सम्बन्धमा दरार

सुरुवातमा एलोन मस्कले ट्रम्पको दोस्रो कार्यकालका लागि करिब २ सय ५० मिलियन डलरको सहयोग दिएर उनको चुनावी अभियानमा महत्वपूर्ण साथ दिएका थिए । 

त्यसको बदलामा ट्रम्पले उनलाई ‘अमेरिकन इनोभेसनको प्रतीक’ भन्दै खुलेर प्रशंसा गरेका थिए र डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सीको सह–प्रमुख पदमा नियुक्त गरेका थिए । तर, मे २९, २०२५ मा मस्कले उक्त पदबाट अप्रत्याशित राजीनामा दिएपछि सम्बन्धमा चिसोपन सुरु भयो । 

मुख्य कारण थियो ट्रम्पको नयाँ आर्थिक नीति । जसमा धनी व्यवसायीहरूलाई कर छुट र रक्षा खर्चमा तीव्र वृद्धिको प्रस्ताव गरिएको थियो । मस्कले यसलाई अर्थतन्त्रको दीर्घकालीन विनाश हुने नीति भन्दै सार्वजनिकरूपमा विरोध गरे ।

सार्वजनिक वाकयुद्ध : एक्समार्फत टकराव

मस्कको आलोचना पश्चात ट्रम्पले तुरुन्तै आक्रामक प्रतिक्रिया जनाए । उनले टेस्ला र स्पेसएक्सलाई दिइएका सबै सरकारी ठेक्काहरू रद्द गर्ने चेतावनी दिए । 

ट्रम्पले सामाजिक सञ्जालमार्फत मस्कलाई अर्बौं डलरको सरकारी सहायता लिएको आरोप लगाउँदै ती अनुदान फिर्ता लिएर बजेट सन्तुलन कायम गरिने बताए । मस्कले त्यसको जवाफमा ट्रम्पको नीतिलाई विषाक्त भन्दै आलोचना गरे । झन् तीव्र प्रतिक्रिया दिँदै उनले ट्रम्पलाई विवादास्पद जेफ्री एप्स्टिन प्रकरणसँग जोड्ने पोष्ट गरे । यद्यपि यो आरोप पुष्टि नभएको र ट्रम्प पक्षले निन्दनीय र निराधार भनेको छ ।

व्यवसायिक चपेटामा टेस्ला र स्पेसएक्स

राजनीतिक टकरावको प्रत्यक्ष असर मस्कका कम्पनीहरूमा देखिन थालिसकेको छ । टेस्लाको सेयर मूल्य एकै दिनमा १४ प्रतिशतले खस्कियो र लगातार ओरालो लागिरहेको छ । 

मस्कले आफ्नो ध्यान प्रविधिमा फर्काउँदैनन् भने टेस्ला र स्पेसएक्स दुबै संकटमा पर्न सक्ने वित्तीय विश्लेषकहरू चेतावनी दिइरहेका छन् । टेस्लाको स्वचालित ट्याक्सी परियोजना हाल टेक्ससको अस्टिनमा परीक्षण चरणमा छ । तर अनिश्चितताको छायाँमा । 

सार्वजनिक असन्तोषः ‘टेस्ला टेकडाउन’ अभियान

एलोन मस्कको राजनीतिक गतिविधिको असर सामाजिक धारणा र बजारमा देखिन थालेको छ । ‘टेस्ला टेकडाउन’ नामक बहिष्कार अभियान अमेरिका भरि फैलिरहेको छ । 

टेस्लाको बिक्री २०२५ को पहिलो तीन महिनामा २० प्रतिशतले घटेको छ भने मुनाफामा ७० प्रतिशतको गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मस्कको प्रविधिको विरोध नभई उनको अत्याधिक प्रभावशाली र अपारदर्शी शक्ति र सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगको विरुद्धमा उठेका हुन् ।

शक्ति संघर्षको दोहोरी

यद्यपि, ट्रम्पले सरकारी ठेक्काहरू कटौती गर्ने धम्की दिएपनि प्राविधिक रूपमा त्यो सजिलो छैन । स्पेसएक्स हाल नासाको लागि अपरिहार्य प्रक्षेपण साझेदार बनिसकेको छ । र, स्टारलिङ्क नेटवर्कको विकल्प तत्काल छैन । त्यसैले केही विशेषज्ञहरू यो द्वन्द्व नीति भन्दा बढी नाटकीय भएको बताउँछन् । 

ट्रम्प र मस्कबीचको सम्बन्ध अहिले सार्वजनिकरूपमा पूर्णतः चिसिएको स्पष्ट भइसकेको छ । ट्रम्पले संवादको सबै सम्भावना अस्वीकार गरिसकेका छन् भने मस्कले पनि राजनीतिको प्रभावले आफ्नो व्यवसाय गुमाउने खतरा भोगिरहेका छन् ।

विश्वका दुई प्रभावशाली पात्रबीचको यो शक्ति संघर्षले न केवल अमेरिका प्रभावित छ, समग्र विश्वव्यापी प्रविधि उद्योग र राजनीतिमा दूरगामी प्रभाव पार्ने खतरा समेत रहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update