News 24 Television
लयमा फर्किदै अर्थतन्त्रः रेमिट्यान्स र निर्यात बृद्धिले आशाको सञ्चार

काठमाडौं । नेपालको अर्थतन्त्र लामो समयको दबाबपछि फेरि लयमा फर्कन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनले समग्र आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखाएको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै १३ खर्ब ५६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । 

जुन इतिहासमै उच्च हो । विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ भने चालु खाता र शोधनान्तर स्थिति पनि निरन्तर धनात्मक छन् । आयात १३.१ प्रतिशत र निर्यात ७२.७ प्रतिशतले वृद्धि हुँदा व्यापार सन्तुलनमा पनि सुधार देखिएको छ । 

लामो समयदेखि दबाबमा रहेको नेपाली अर्थतन्त्र फेरि लयमा फर्किने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक सूचकहरू सुधारोन्मुख छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । 

जुन अघिल्लो वर्षको समान अवधिको तुलनामा उल्लेख्य सुधार हो । यो वृद्धि रेमिटेन्स तथा निर्यात वृद्धिले सम्भव भएको हो । विदेशमा श्रम गर्न गएका नेपालीहरूले पठाउने रेमिटेन्स रकम कोभिडपछिको समयदेखि लगातार बढिरहेको छ । वैशाखसम्ममा मात्रै १३ खर्ब ५६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । जुन इतिहासमै उच्च हो ।

व्यापार र पर्याटनमा पनि सुधार 

यता, व्यापार क्षेत्रमा पनि सुधार देखिएको छ । आयात र निर्यात दुबै बढेका छन् । खासगरी पामतेल र भटमासको तेलको आयातमा उल्लेखनीय वृद्धि भएको छ । यस्ता वस्तुहरू नेपाल ट्रान्जिट भएर भारत जाने हुँदा यसले निर्यातमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । औद्योगिक कच्चा पदार्थ, निर्माण उपकरण र उपभोग्य वस्तुहरूको आयातमा वृद्धि हुनु आर्थिक गतिविधि विस्तारको संकेतको रूपमा हेरिएको छ । 

पर्यटन क्षेत्रबाट प्राप्त आम्दानी साढे ८ प्रतिशतले बढेको छ । तर विदेश घुम्न, अध्ययन र उपचारका लागि गएका नेपालीहरूको खर्च झण्डै १० प्रतिशतले बढेकोले सेवा क्षेत्रमा घाटा देखिएको छ । राष्ट्र बैंकको विवरणअनुसार नेपालले ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गर्दा १ खर्ब ८५ अर्ब रुपैयाँ विदेशमा खर्च भएको छ ।

मुख्य आर्थिक सूचकांकहरूमा सुधार

–    वार्षिक बिन्दुगत आभारमा उपभोक्ता मूल्य सूचकाङमा आधारित मुद्रस्फीति २.७७ प्रतिशत रहेको छ । 

–    शोधनान्तर स्थिति रु ४ सय ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । 

–    आयात १३।१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । 

–    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०।५ प्रतिशतले बढेको छ । 

–    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ । 

–    नेपाल सरकारको खर्च रु ११५७ अर्ब ८९ करोड र राजस्व परिचालन रु ९२२ अर्ब ४३ करोड रहेको छ । 

–    विस्तृत मुद्राप्रदाय ६।६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । 
–    बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७,३ प्रतिशतले बढेको छ । बार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ ।

अर्थतन्त्रका सुचांकमा वृद्धि देखाउने गरि रेमिट्यान्सले ठूलो भूमिका निर्वाह गर्दै आएको छ । रेमिट्यान्समा आधारित अर्थतन्त्रका कारण जुनसुकै बेला पनि खतरामा पर्न सकिने स्थिति कायमै देखिन्छ । उसोतः उत्पादन तथा औधोगिक क्षेत्रले भने कानूनी प्रावधानदेखि विभिन्न विषयले खुलेर काम गर्न पाउने स्थिति नभएको भनिरहेको देखिन्छ । 

तर समग्रमा, देशको बाह्य क्षेत्र सन्तुलन सकारात्मक रहेको छ । चालु खाता दुई वर्षदेखि निरन्तर धनात्मक छ, हाल २ खर्ब ५५ अर्ब रुपैयाँले । समग्र शोधनान्तर स्थिति पनि ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ धनात्मक छ । 

विश्लेषकहरूका अनुसार विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स, चालु खाता र शोधनान्तर स्थिति सबै सूचकहरू ऐतिहासिक उचाइमा पुग्नु अर्थतन्त्रका लागि उत्साहजनक संकेत हुन् । यद्यपि पर्यटन, सेवा क्षेत्र र खपतजन्य आयातमा सन्तुलन कायम गर्नुपर्ने चुनौती भने बाँकी नै छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update