News 24 Television
हृदयविराक दुर्घटना, क्षणभरमै सकियो सयौंको लिला, शोकमा भारत 

काठमाडौं । भारतमा भयानक हवाई दुर्घटना भएको छ । विहीबार भारतमा भएको यो हवाई दुर्घटना हवाई दुर्घटनाको इतिहासमै डरलाग्दो दिनका रुपमा दर्ज भएको छ । 

अहमदाबादबाट लण्डन अवतरणको उद्देश्य बोकेका यात्रुहरुको जीवन क्षणभरमै समाप्त भएसँग भारतमात्रै होइन विश्वसमुदाय नै यतिबेला स्तब्ध भएको छ । साथै मौसम सामान्य, पाइलट अनुभवी र विमान विश्वकै उन्नत श्रेणीको मानिँदै आएको अवस्थामा भएको यस भीषण दुर्घटनाले ड्रिमलाइनरको विश्वसनीयतामाथि गम्भीर प्रश्न समेत खडा गरेको छ ।

२ सय ४२ जना सवार विमान दुर्घटनामा परि क्षणभरमै ध्वस्त हुँदा यतिबेला भारतमात्रै होइन विश्वसमुदाय नै स्तब्ध छ । अत्याधुनिक प्रविधि मानिने बोइङ ७८७–८ ड्रिमलाइनर विमान एअर इन्डिया १७१ गुजरातको अहमदाबादबाट लन्डन ग्याटविकतर्फ जाँदै गर्दा आकस्मिक रूपमा जमिनतर्फ खस्यो । विहीबार दिउँसो १ः३९ मा उडेको विमानले ‘मेडे’ कल गरेपछि सम्पर्क टुट्यो र केही मिनेटमै गुजरातको विजे मेडिकल कलेजको होस्टेलमा ठोक्कियो । 

एअर इन्डियाले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७–८ विमानमा चालकदलका सदस्यसहित २ सय ४२ जना यात्रु रहेको र तीमध्ये १ सय ६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए । एअर इन्डियाको यात्रुवाहक विमान विजे मेडिकल कलेजको होस्टेलमा खस्यो ।

‘मेडे’ पछिको शून्यता

–    विमानमा दुईजना पाइलट र १० जना क्याबिन क्रूसहित कुल २४२ जना यात्रु सवार थिए । जसमा ११ बालबालिका र दुई शिशुहरू रहेका थिए ।

–    क्याप्टेनसँग ८ हजार २ सय घण्टा उडान अनुभव थियो । को–पाइलटसँग १ हजार एक सय घण्टा उडान अनुभव थियो ।

–    विमानले अहमदाबादबाट विहीबार दिउँसो १ बजेर ३९ मिनेटमा रनवे २३ बाट उडान भरेको थियो ।

–    विमानले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ कल दिएको थियो । तर, त्यसपछि विमानबाट कुनै प्रतिक्रिया आएको थिएन ।

–    जहाज धावनमार्ग छाडेर जमिनको सतहभन्दा ६२५ फिट माथि हुँदा सम्पर्क विच्छेद भएको थियो ।

–    विमानमा भारतको गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए ।

एयर इन्डियाले विमान दुर्घटनापछि आफ्नो सामाजिक सञ्जाल प्रोफाइल ब्ल्याकआउट गरेको छ ।

भारतीय नागरिक उड्डयन कार्यालयअन्तर्गतको मौसम पूर्वानुमान शाखाका अनुसार घटनाको समयमा आकाशमा न कालो बादल थिए न त तीव्र हावाहुरीको सम्भावना नै थियो । अनुकुल मौसमका बीच बोइङ–७८७–८ ड्रिमलाइनर जहाजले धावनमार्ग छाडेको पाँच मिनेटमै आकाशमा टिक्न नसकी जमिनतिर हुर्रिनुको कारण के हो भन्ने विषयमा अहिले धेरैको चासो केन्द्रित छ ।

बोइङ ७८७–८ ड्रिमलाइनरको विवाद

एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाको घटना बोइङ ७८७–८ यसरी दुर्घटनामा परेको पहिलो घटना हो । यो मोडल १४ वर्षअघि सुरु गरिएको थियो र ड्रिम लाइनर भनिएको यो मोडेलको यात्रुवाहक विमानले १ अर्ब यात्रु बोकेर कीर्तिमान कायम गरेको भनि केही हप्ताअघि मात्रै यसको प्रशंसा गरिएको थियो । तर, प्रविधिमा उन्नत मानिएको बोइङ ७८७–८ ड्रिमलाइनर विमानको सुरक्षालाई लिएर अघिदेखि नै विवाद चल्दै आएको थियो । 

उत्पादन प्रक्रियामा गुणस्तरमा कमजोरी, आपूर्तिमा ढिलाइ र समन्वयको अभावले बोइङको यो मोडलमाथि लगातार आलोचना हुँदै आएको थियो । 

विशेषगरी अमेरिकाको साउथ क्यारोलिनास्थित प्लान्टमा बनेका विमानहरूमा ठूलो मात्रामा समस्या देखिएपछि बोइङलाई थप निगरानीमा राखिएको थियो । बोइङले ७८७ ड्रिमलाइनरको उत्पादनमा ‘ग्लोबल सप्लाई चेन’ मोडल अपनाएको थियो । 

 विभिन्न पार्टपूर्जा अमेरिका बाहिरबाट ल्याएर जडान गरिन्थ्यो । तर, यस प्रक्रियाले गुणस्तरमा एकरूपता नआएको, कतिपय पाटपुर्जा उचित परीक्षण नगरी जडान गरिएको भन्ने आरोप लाग्दै आएका छन् ।

–    विमानमा फ्युसेलेजमा चिरा देखिनु, ब्याकअप पावर युनिटमा समस्या आउनु, कार्बन फाइबर संरचनामा कमजोरी देखिनुजस्ता विविध प्राविधिक समस्या बाहिर आइसकेका छन् । 

–    सन् २०१३ मा लिथियम आयन ब्याट्रीमा आगलागी भएपछि विश्वभरका सबै ड्रिमलाइनरहरू अस्थायी रूपमा ग्राउन्डेड गरिएका थिए ।

–    एफएए (फेडेरल एभियशन एडमिनिस्ट्रेशन), ईएसए (युरोपियन युनियन एभियशन सेफ्टी एजेन्सी) लगायतका नियामक निकायहरूले यस विमानमाथि कडा अनुसन्धान र परीक्षण गरेका थिए । यी सबै विवादले बोइङलाई अर्बौं डलरको घाटा बेहोर्नुपरेको थियो । 

–    एयरलाइन्सहरूले सम्झौता रद्द गर्नु, उडान रोक्नु र विमान फिर्ता पठाउने निर्णय पनि गरेका थिए ।

–    निर्माण प्रक्रियामा हतार र व्यावसायिक प्राथमिकतालाई बढी ध्यान दिइएको आरोप बोइङमाथि लाग्दै आएको छ । 

भारतमा घटेको पछिल्लो दुर्घटनाले फेरि एकपटक बोइङ ७८७–८ ड्रिमलाइनरको विश्वसनीयता र सुरक्षा मापदण्डमाथि गम्भीर प्रश्न उठाएको छ ।

कहिले–कहिले भएको थियो एयर इन्डिया फ्लाइटको दुर्घटना ?

एयर इन्डिया फ्लाइट २४५

दुर्घटना मितिः ३ नोभम्बर १९५०

स्थानः मोन्ट ब्लान्क, फ्रान्स

मृत्युः ४८ जना

एयर इन्डिया फ्लाइट ८५५ 

दुर्घटना मितिः सन् १९७८, जनवरी १

स्थानः मुम्बई नजिकै, अरब सागर

विमान प्रकारः बोइङ ७४७

कारणः इन्स्ट्रुमेन्ट फेल्योर र पाइलटको गल्ती

मृत्यु संख्याः २१३ जना (सबै यात्री र चालक दल)

एयर इन्डिया फ्लाइट १८२ 

दुर्घटना मितिः सन् १९८५, जुन २३

स्थानः आयरल्यान्ड तट नजिक, एटलान्टिक महासागर

कारणः आतंकवादी आक्रमण 

मृत्यु संख्याः ३ सय २९ जना

भारतको सबैभन्दा घातक विमान दुर्घटना

इन्डियन एयरलाइन्स फ्लाइट ६०५ 

दुर्घटना मितिः सन् १९९०, फेब्रअरी १४

स्थानः बेंगलुरु, भारत

विमान प्रकारः एयरबस ए–३२० 

कारणः पाइलटको गल्ती र प्राविधिक गडबडी

मृत्यु संख्याः ९२ जना

एअर इन्डिया एक्सप्रेस फ्लाइट ८१२ 

दुर्घटना मितिः सन् २०१०, मे २२

स्थानः म्याङ्गलोर, भारत

विमान प्रकारः बोइङ ७३७–८००

कारणः रन–वे ओभरशुट, पाइलटको थकान

मृत्यु संख्याः १५८ जना

एअर इन्डिया एक्सप्रेस फ्लाइट १३४४

दुर्घटना मितिः सन् २०२०, अगस्ट ७

स्थानः कोझिकोड, केरल

कारणः भारी वर्षा, रन–वेमा चिप्लिएर दुर्घटना, विमान दुई टुक्रा

मृत्यु संख्याः २१ जना

एयर इन्डिया सन् १९३२ मा स्थापना भएको हो । त्यसबेला टाटा एयरलाइन्स भनिन्थ्यो । सन् १९४६ मा यसको नाम परिवर्तन गरी एयर इन्डिया राखियो । तर, हाल यो कम्पनी टाटा ग्रुपकै स्वामित्वमा सञ्चालनमा छ र नेपालमा पनि नियमित उडान गर्दै आइरहेको छ ।

बोइङ ७८७–८ ड्रिमलाइनर जस्तो अत्याधुनिक प्रविधियुक्त र विश्वको सबैभन्दा सुरक्षित मानिएको विमान अचानक दुर्घटनामा पर्दा न केवल यात्रुहरूको जीवन गुम्यो, तर विश्व विमान उद्योगकै आत्मविश्वासमा गहिरो धक्का लाग्यो । 

विगतमा बोइङमा देखिएका प्राविधिक त्रुटिहरू, उत्पादन शृंखलामा देखिएको अव्यवस्था र अघिल्लो घटनाहरूलाई नजरअन्दाज गरिनु अहिलेको दुर्घटनाको पृष्ठभूमिमा गम्भीर प्रश्न खडा गर्छन् । भारतको विमान इतिहासमा लामो यात्रापछि एयर इन्डियाले फेरि विश्वस्तरीय सेवा दिने प्रयास गरिरहेको बेला यस्तो दुर्घटनाले टाटा समूहको विश्वसनीयता, भारतीय उड्डयन सुरक्षाको क्षमतामाथि मात्र होइन समग्र अन्तर्राष्ट्रिय विमान सुरक्षा प्रणालीमाथि नै पुनर्विचार गर्न बाध्य बनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update