News 24 Television
क्रसर उद्योगका कारण माझी समुदाय पेशाबाटै विस्थापित

सिन्धुपाल्चोक । सदियौंदेखि नदीसँग गाँसिएको जीवनशैली अपनाउँदै आएको माझी समुदायको पेशा संकटमा परेको छ । सिन्धुपाल्चोक जिल्लाको नदी किनारमा बस्ने र मुख्य रूपमा माछा मार्ने पेशामा निर्भर यो समुदायलाई जीविकोपार्जनको समस्या देखिएको हो । बढ्दो क्रसर उद्योगका कारण बाझी समुदायको पेशा संकटमा परेको हो । 

६३ वर्षका पदमबहादुर माझी आठ वर्षको उमेरदेखि इन्द्रावती खोलामै माछा मारेर जीवन यापन गर्दै आएका छन् । पहिले जहाँ जाल फाल्यो, माछा आफैँ जालमा पर्दथे । दिनको चार किलोसम्म माछा बेच्ने माझीलाई अहिले दिनभर खोला किनारमा डुलेर जाल हाले पनि माछा पर्न मुश्किल छ । पहिले माछा हुने भाउ नपाउने तर अहिले भाउ पाउने तर माछा नपाउने समस्या । खोलामा सय छप्का हान्दा एउटा दुईटा मात्र माछा पर्ने गरेको उनीहरु बताउछन् । 

विगतमा खोलामा माछा हुनुको कारण भनेकै माछा बस्ने कुर हुन्थ्यो ।  स्थानिय माझी समुदायले समेत माछा बस्ने कुरको संरक्षण गर्दथे । अहिले काभ्रेको दोलालघाटदेखि माथी र मेलम्ची तल मात्र दुई दर्जन वढी क्रसर उद्योग छन् ती क्रसरहरूले नदीजन्य कच्चा पदार्थ उत्खनन गर्दा दैनिक जसो खोलाको धार परिवर्तन भइरहन्छ ।  

माछा बस्ने कुरलाई क्रसरले गिटी र बालुवा बनाएर नासेका छन् । इन्द्रावती खोलामा क्रसर संचालनमा नआउदाको समयमा पानी विस्तारै बग्ने र जम्ने तोला नै माछाका लागि चरिचरणका क्षेत्र थिए । माछालाई चाहिने लेउ, झ्याउ, आफै उत्पादन हुन्थ्यो । तर यहाँ संचालनमा रहेको क्रसर उद्योगहरुले पर्यावरणको ख्यालै नगरी अवैधानिक रुपमा यस्ता संरचना विनाश गरेका छन् । यसकै परिणाम स्वरुप खोलामा र माछामा आश्रित भएर गुजारा चलाउने माझी परिवार गाउँबाट नै बिस्थापित हुन थालेका छन् ।

बोर्ड गाउँमा मात्रै माछा मारेर जिविका चलाउने चार परिवार त गाउँ नै छाडेर गइसके । केहि युवाहरू वैदेशिक रोजगारीतिर लागेका छन् । बुढापाकाहरु भने लुकिछिपी बालुवा निकालेर गुजारा चलाइरहेका छन् । इन्द्रावती खोलामा २४ सै घण्टा क्रसर चल्दा पानी सधैं धमिलो नै हुने गर्छ । धमिलो पानीमा माछा सर्केर तलबाट माथी आउन नसक्ने माझीहरू बताउछन् । 

माछा मारेर, माछा बेचेर गुजारा गर्नेहरु अहिले आफैलाई तरकारी खान पनि खोलामा माछा पाउन छाडेको बताउँछन् । विगतमा ढुङ्गामुनि लुकेका माछालाई द्रवाली र थकौली खेलेर जालमा पर्दा कम्मरमा बाध्ने फुर्लुङ भरिन्थ्यो । पुर्खौली देखि नदिमा रमाउने र नदीलाई पुजा गर्ने यहाँका माझीहरू खोलामा पाईने थरीथरीका माछाका परिकार सम्झने गर्दछन् । 

माछा मार्नको लागि नदि वारपार गर्ने डुङ्गादेखि माछा पार्ने रैथाने प्रविधिहरु दिन्द्री, खोगा, ढडिया अहिले घर घरमा थन्किएका छन् । सरकार र स्थानीय तहले विकास र आन्तरीक आम्दानीको नाममा वातावरणीय सन्तुलन बिर्सिँदा, परम्परागत पेशा र संस्कृति जोखिममा परिरहेका छन् । सिन्धुपाल्चोकका माझी समुदायले भोगिरहेको यो समस्या केवल स्थानीय मुद्दा मात्र नभएर यो देशको सांस्कृतिक र पर्यावरणीय पहिचानसँग जोडिएको विषय हो । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update