काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको बताए । उनले चालु आर्थिक वर्षको सन्दर्भमा ३१ प्रतिशतले राजश्व वृद्धि हुने विश्वासका साथ आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरेको बताए ।
उनले भने, “राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजश्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव छ । चालु आर्थिक वर्षको कुरा गर्दा हामीले ३१ प्रतिशतको वृद्धि हुन्छ भनेर बजेट प्रश्तुत ग¥यौं । यस पृष्ठभूमिमा मैले बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजश्व वृद्धिको लक्ष्य राखेको छु । १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ, पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथमा मैले प्रश्ताव गरेको छु ।”
अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको प्रश्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताए । उनले लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने आलोचनाहरू सुन्दै आएको बताउँदै राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्षमा आफू संवेदनशील रहेको दाबी गरे ।
उनले विगतमा राजश्वको लक्ष्य पूरा भएर राजश्वसँग सम्बद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाए ।